संविज्ञको म्याम,
संविज्ञ स्कुल जान थालेको छ। हरेक दिन हिँड्नु अघि ऊ आफ्नै लयमा स्कुल नजान जिद्दी गर्छ। स्कुल पठाउन खोज्ने मान्छे उसलाई मन पर्दैन। ऊ अलि परै बसेकी आफ्नी आमालाई नजिक आउनु र मलाई तानेर घरभित्रै लैजानु भन्छ।
आफ्नी मम्माले जबरजस्ती भ्यानभित्र उसलाई कोचकाच पार्छिन् र जबरजस्ती ढोका तान्छिन् भन्ने उसलाई थाहा छ। ऊ उस्की काकीको मोबाइलतिर इसारा गर्छ र दुवै हात फिँजाएर भने झैँ गर्छ- मेरो बाबालाई बोलाइदिनू, कतै उसले मलाई स्कुल जान रोक्छ कि?
ऊ उस्की मम्मासँगै उभिएकी उस्की नानीलाई इसारा गर्छ, अरू सबैले मलाई यति धेरै यातना दिए पनि तिमी त थियौ नि, किन हेरिबसेकी छ्यौ? मलाई म्यामले कराउनुहुन्छ। थुन्नुहुन्छ। त्यहाँको लोटी मिठो सैन।
लाग्छ, हरेक बिहान उसले भनिरहेछ- स्कुल घर जस्तो छैन। मेरो संसार यहीँ छ।
भ्यानभित्र कोचिएपछि उसले बुझ्छ, अब मेरो केही लाग्दैन। ऊ दुवै गालाबाट झरेका आँसुका ढिक्कालाई नपुछी दुवै हात हल्लाएर बाई भन्छ। यस्तरी भन्छ मानौँ, मेरो यति धेरै याचना तिमीहरूले सुनेनौ। तर म मेरो कर्तव्य भुल्दिनँ।
ऊ हिँडेपछि घरमा सन्नाटा छाउँछ। भ्यान फर्केर नआउन्जेल बिहानको परिदृश्य बाहेक घर सुनसान रहन्छ। त्यसपछि उसका लागि स्कुल र हाम्रो लागि घर एकै हुन्छ।
तर हामीलाई उसलाई स्कुल नजा भन्ने छुट छैन।
किन मलाई जबरजस्ती यसरी पठाइँदै छ? किन मेरा सबै कुरा मान्नेहरू यही एउटा कुरा मानिरहेका छैनन्? उसले समय क्रममा बिस्तारै बुझ्ला। तर उसले केही थप कुरा बुझोस् भनेर म्यामलाई यो खलिपा पठाइएको हो। यो न त अब्राहम लिंकनको नक्कल हो, न सार्वजनिक प्रचारको सस्तो खपत।
हामीलाई थाहा छ। अब संविज्ञले हामीले भनेको कम आफ्नी म्यामले भनेको ज्यादा मान्नेछ। म्यामले कतै कुनै कुरा गलत नै भने पनि उसले सही बुझ्नेछ र उसकी नानीले सही नै भने पनि उसले मान्नेछैन। किनभने उसकी म्यामले उसलाई अर्कै सिकाएकी छन्। म चाहन्छु, उसले स्कुलबाटै गल्ती कुरा नसिकोस्। बरु सिकोस् यो संसारमा सबैकुरा जान्ने मान्छे कोही छैन, हुन सक्दैन। हरेक कुराको एउटा सीमा छ। त्यो मध्येको एउटा ज्ञान पनि हो।
समाजमा गरिबी छ। सम्पन्नता छ। विभेद छ। बेमेल छ। कुनै घर मुठ्ठीभरमा सिंगो समाजलाई आफ्नो नियन्त्रणमा राख्न खोज्छ। उसले सामाजिक भेद बुझोस्, सामाजिक रूपमा नै। तर समाजका विशृङ्खल नियमहरूभित्रको एउटा हिस्सा ऊ नबनोस्। आफैँले सामाजिक बोझ र विभेद बोकेर हिँड्ने (अ) ज्ञान उसले बोकी नहिँडोस्।
उसले आफ्नो बारे आफैँसँग तुलना गरोस्। आफ्नै इतिहास। आफ्नो बाबा, मम्मा, आमाहरूले भोगेको इतिहास। जीवनको रूपान्तरण आफ्नै इतिहासबाट हेर्ने हो। अरूको जीवनको इतिहासबाट हैन। आफू उभिएको धरातल र अरू उभिएको धरातल स्वरूपमा एउटै भए पनि बनोटमा फरक छ। अरूकै धरातलमा उभिएर अरूजस्तै हुने असफल सपना उसले नदेखोस्। बुझोस्, जीवन जीवन जस्तै सरल हुनुपर्छ। कठोर चीजमा जीवन हुँदैन।
हरेक जीवनमा राम्रा र नराम्रा घटनाहरू घट्छन्। यी सबै अस्थायी कुरा हुन्। आज मेरा गालाबाट झरेका आँसुका थोपा मसँगै गाडीमा उभिएकी म्यामले समेत पुछेकी छैनन्। यी म आफैँले पुछ्नुपर्छ। यी आँखाबाट खसेका सुन्दर मोती भएका भए गाउँघरका सबैको भीड लाग्ने थियो र तिनलाई छुन मात्रै तँछाडमछाड हुने थियो। आफ्नो जीवनको गोरेटो आफैँ कोर्ने हो।
यति कठोर मन लिएर मलाई भ्यानको ढोका बन्द गर्ने मातृहृदयले मेरै सपना देखेको रहेछ। र त्यो सपना फेसबुकका भित्तामा देखिने जिपिए ४ भन्दा धेरै सुन्दर र सफा थिए। उसले यति बुझ्ने आधार तय गरिदिनुहोस्।
जीवनमा दुख छन्। दुखका कारण छन्। यसका समाधान छन्। कुनै घटना वा परिघटनाले जीवनमा ल्याउने चुनौती अवसर बन्छ। समाजका निश्चित मान्यताभित्र मेरोबारे निर्णय गर्ने म बाहेक अर्को हुन सक्दैन। सुखका दिन, दुखका दिन। समस्याका दिन, समाधानका दिन। राम्रा दिन, नराम्रा दिन। उसले यति बुझोस् यी दिन बितेर जानेछन्।