सीमा लिम्बू नक्कली गरगहना बनाएर बेच्थिन्। झापाको दमकमा बस्ने उनको त्यहीँ एउटा सानो पसल थियो।
उनी विभिन्न डिजाइनका टप, झुम्का, माला लगायत बनाउँथिन्। स्थानीय बजारमै गरगहना बिक्री हुन्थ्यो। आम्दानी राम्रै थियो।
'ती गहना सामाजिक सञ्जालमा पनि राख्थेँ। धेरैले राम्रो प्रतिक्रिया दिन्थे,' सीमाले भनिन्।
कोरोना महामारीको लकडाउनमा भने उनलाई केही नयाँ काम गर्ने हुटहुटी जाग्यो। उनले सामाजिक सञ्जालतिर भारत र चीनमा स्थानीय स्तरमै रबरब्यान्ड (कपाल बाँध्ने रबर) उत्पादन भइरहेका भिडिओहरू हेरेकी थिइन्।
उनलाई लाग्यो — यस्तो रबर त म पनि बनाउन सक्छु होला!
त्यसपछि उनले यसबारे थप बुझिन्। त्यही क्रममा इन्टरनेटमा बेल्जियमको एउटा कम्पनी फेला पारिन्। सो कम्पनीसँग सम्पर्क गरेर आफ्ना जिज्ञासा राखिन्।
'त्यो कम्पनीसँग मैले रबरब्यान्ड उत्पादनबारे सबै सोधेँ। कम्पनीले मलाई भर्चुअल तालिम दिने भयो। निकै खुसी लाग्यो,' सीमाले भनिन्।
एक वर्षसम्म उनी सो कम्पनीसँग सम्पर्कम रहिन् र तालिम लिइन्। तालिम सकिएपछि आफै कच्चा पदार्थ मगाएर रबरब्यान्ड बनाउने निधो गरिन्। कच्चा पदार्थ कहाँ पाइन्छ भन्नेबारे पनि बेल्जियमको त्यही कम्पनीले उनलाई बताइदिएको थियो।
यसपछि उनले चीनबाट कच्चा पदार्थ मगाइन्। गरगहना बेचेर बचाएको ४० हजार रूपैयाँ लगानी गरिन्।
'एकै पटक धेरै लगानी गर्यो तर सामान बिकेन भने भन्ने डर थियो। त्यसैले थोरै लगानी गरेँ,' सीमाले भनिन्, 'राम्रो भए थप्छु, नराम्रो भए अनुभव हुन्छ भन्ने लागेको थियो।'

यो २०७७ सालको कुरा हो।
उनले कच्चा पदार्थ ल्याएपछि तालिममा सिकेझैं अभ्यास गरिन्। कोभिडका कारण घरका अरू सदस्य पनि फुर्सदिला थिए। सीमाले सबैलाई रबरब्यान्ड बनाउन सिकाइन्।
लकडाउन खुल्दै जाँदा रबरब्यान्डहरू बजारमा पुर्याउन तयार भए।
'पहिलो उत्पादन स्थानीय बजारमै सकियो र धेरैले मनपराए,' उनले भनिन्।
सीमा गहना बेच्दादेखि नै सामाजिक सञ्जालमा सक्रिय थिइन्। उनले फेसबुक, टिकटक र युट्युबमा आफ्नो नयाँ उत्पादन रबरब्यान्डको भिडिओ राखिन्। माग पनि आउन थाल्यो।
उनले रबरब्यान्डको राम्रो बजार सम्भावना देखिन्। थप कच्चा पदार्थ मगाएर उत्पादन बढाइन्। 'सीमा हेयर एन्ड एक्सेसरिज' कम्पनी पनि दर्ता गरिन्। उत्पादन भने घरमै गरिन्।
यसरी नक्कली गहनाको व्यवसाय गरिरहेकी सीमा नयाँ काममा पनि जमिन्।
उत्पादन थालेको पाँच वर्षमा सीमाले ५० भन्दा बढी डिजाइनका रबरब्यान्ड बजारमा ल्याइसकेकी छन्। अहिले उनी सामान्य रबरब्यान्डसँगै स्क्रन्चिज, क्लिप, हेडपिन उत्पादन गर्छिन्। मणि र दानाबाट बनेका ब्रासलेट, झुम्का, टप र माला पनि बनाउँछिन्।
सबभन्दा धेरै बिक्ने भने सामान्य डिजाइनको सानो रबरब्यान्ड नै हो। स्कुल, कलेजका विद्यार्थीदेखि कार्यालय जानेहरूले पनि काला र सेता रबरब्यान्ड बढी मनपराउँछन्।
उनका ग्राहक प्रायः होलसेलर हुन्। त्यसैले उनी पहिले अर्डर लिन्छिन्, अनि मात्र उत्पादन गर्छिन्।
'हामीले बनाएको रबरब्यान्ड आयातीतभन्दा टिकाउ र सस्तो हुन्छ,' उनले भनिन्, 'सामान्यबाहेक अरूको डिजाइन भने सधैं एउटै हुँदैन। एउटा डिजाइन एक, दुई महिना मात्र चल्छ। धेरै डिजाइन ग्राहकले नै दिन्छन्, केही हामी आफै बनाउँछौं।'
सीमासँग रबरब्यान्ड बनाउने मेसिन छ। उनका अनुसार मेसिनले एक घन्टामा २८ किलो साना रबरब्यान्ड बनाउन सक्छ। एक किलोमा करिब एक हजार वटा रबरब्यान्ड हुन्छन्। मेसिनले बनाएका ती रबर कैंचीले काटेर मिलाउनुपर्छ।

उनले कम्पनीमा अहिले पाँच जना कर्मचारी छन्। उनले दुई सय जनाभन्दा बढी महिलालाई तालिम पनि दिइसकिन्। तालिम लिएकामध्ये केहीले उनीबाटै कच्चा पदार्थ लगेर आफै रबर बनाउन थालेका छन्।
'कोही घरमै आएर सिक्छन्, कसैलाई अनलाइनमार्फत सिकाउँछु। सिकेर जानेले आफै उद्यम गरेको देख्दा खुसी लाग्छ,' सीमाले भनिन्।
सीमा कुनै बेला विदेश जाने सोचमा थिइन्।
उनका श्रीमान कोरियामा छन्। दुई वर्षअघि सीमाको पनि कोरियाको भिसा आएको थियो। तर उनले त्यो भिसा त्यागिन् र नजाने निधो गरिन्।
'स्वदेशमै यति राम्रो व्यवसाय हुँदाहुँदै किन जानुपर्यो विदेश,' सीमा भन्छिन्, 'बरू श्रीमानलाई पनि फर्काएर यही व्यवसायमा लगाउँछु।'
अहिले उनलाई आफ्नै देशमा अवसर छ भन्ने विश्वास भएको छ।
रबरब्यान्डसँगै उनी फुर्सदमा गरगहना बनाउँछिन्। यो काम भने उनले २०७१ सालदेखि थालेकी हुन्।
सीमाकी आमा पनि विभिन्न थरीका गरगहना बनाउँथिन्।
'बाल्यकालमै आमाको मेहनत देखेकी थिएँ। बिहेपछि मैले आफ्नो खर्च जुटाउन गरगहना बनाउन थालेँ,' उनले भनिन्।
इलाम घर भएकी सीमा बिहेपछि पाँचथर हुँदै दस वर्षअघि दमक आएकी हुन्।
उनका अनुसार घरको आर्थिक अवस्था राम्रो थिएन। त्यसैले केही काम गर्नुपर्छ भन्ने सोच पहिल्यदेखि थियो।
'त्यही सोच र मेहनतले आज यहाँसम्म ल्याइदियो, खुसी लाग्छ,' उनले भनिन्।
उनी महिलाहरूलाई आत्मनिर्भर हुन सुझाव दिन्छिन्। थोरै लगानीमा पनि काम सुरू गर्न सकिने उनी बताउँछिन्। कसैलई रबरब्यान्ड बनाउनु छ भने आफू तालिम दिन तयार रहेको पनि उनले बताइन्।
'थोरै लगानीमै जुनसुकै काम सुरू गर्न सकिन्छ,' सीमाले भनिन्, 'दक्ष भएर केही गर्नुस्, स्वावलम्बी र आत्मनिर्भर बन्नुहोस्।'
(सीमा हेयर एन्ड एक्सेसरिजको सम्पर्क: ९८४३०५८१८३)