जसले व्यवसाय हुर्काए
चार वर्ष अघिसम्म ललितपुरकी निशा अधिकारीलाई आफू उद्यमी बन्छु होला भन्ने लागेकै थिएन।
सामाजिक सञ्जालमा राखेको आधा मिनेटको भिडिओले उनको जीवन कायापलट गरिदियो। घरको भान्सामा दुई किलो सुत्केरी मसला बनाएर सुरू भएको उनको व्यवसायले अहिले फड्को मारिसकेको छ।
निशा आफै पनि आफ्नो कम्पनी 'माया र मसला' को सफलता देखेर दंग पर्छिन्।
'थोरै सुत्केरी मसला बनाएर सुरू गरेको व्यवसाय यति छिट्टै यतिको उचाइमा पुग्छ भन्ने लागेको थिएन,' निशा भन्छिन्, 'साँच्चै माया र मसलालाई धेरैले माया गर्नुभएको छ।'
निशाले अहिले सुत्केरी मसलासँगै गुँदपाक, पुष्टकारी, लड्डु, विभिन्न थरीका अचार बनाउँछिन्।
चाडपर्व अनुसार सेलरोटी, अनरसा, खजुरी, आलुचिप्स, कुकिज, सातु, खुर्मा, तितौरा, इनर्जी–बार, मस्यौरा, छुर्पी, चटपटा काजु, फुरनदाना, खसीको सुकुटीसम्म बनाउँछिन्। त्यस्तै विभिन्न ठाउँबाट मगाएर चुक अमिलो, मह, तामा, घ्यू, गेडागुडी, दाल लगायत पनि बेच्छिन्।
उनका अनुसार अहिले कम्पनीमा १७० भन्दा बढी उत्पादन पाइन्छ। यी उत्पादनमध्ये सबभन्दा बढी बिक्ने सुत्केरी मसला नै हो। यसबाहके गुँदपाक, पुष्टकारी, गुदको लड्डु बिक्छ। सुत्केरी मसला दैनिक २० किलोभन्दा बढी बिक्री हुने उनले बताइन्।
यी सबै उत्पादन उनी बसेको घर सातदोबाटोमै बन्छ। हरेक उत्पादनका लागि आएका सामग्री कोलाउन, पखाल्न, बनाउनदेखि बजारसम्म लैजान तयारी गर्ने ५० जना कर्मचारी छन्। निशा आफै पनि पकाउँछिन्।
यसबाहेक उनी तयार भइसकेका खानेकुराको प्रचार–प्रसारमा व्यस्त हुन्छिन्।
'म माया र मसलामा के के तयार भयो भनेर आफै भिडिओ बनाएर सामाजिक सञ्जालमा हाल्छु,' निशाले खुसी हुँदै भनिन्, 'भिडिओ हेरेरै धेरैले अर्डर गर्नुहुन्छ, किन्न आउनुहुन्छ। मलाई त धेरैले निशाभन्दा पनि माया र मसला भनेरै चिन्छन्।'
निशाले यो काम पाँच हजार लगानीबाट सुरू गरेकी हुन्।
उसो त निशाले व्यवसाय गर्छु भनेर काम थालेकी होइनन्। व्यवसायले चाहिँ निशालाई तानेको भन्दा फरक पर्दैन।
त्यो पनि टिकटकमा अपलोड गरेको आधा मिनेटको भिडिओले! टिकटक पनि आफैले बनाएको होइन, साथीले आफ्नै सुरले बनाएर अपलोड गरिदिएको!
'साथीले आफन्तलाई भेट्न जान सुत्केरी मसला बनाइदिन भन्नुभएको थियो। मैले मसला बनाउँदै गरेको भिडिओ उहाँले टिकटकमा हालिदिनुभएछ,' निशाले भनिन्, 'त्यसपछि त मसला बनाइदिन अर्डर पो आउन थाल्यो। अनि व्यवसाय नै सुरू गरेँ।'
निशाले टिकटक हेरेर अर्डर गर्नेलाई सम्पर्क गरिन् र सुत्केरी मसला बनाएर घरमै पुर्याइदिइन्। मसलासँगै थरीथरी अचार पनि बनाएर बेच्न थालिन्। मसला मायासहित बनाउने र दिने भएकाले माया र मसला नाम राखेको उनी बताउँछिन्।
अहिले पनि मसला र अचार उनी घरकै भान्सामा तयार गर्छिन्। उनका अनुसार सुत्केरी मसला काजु, किसमिस, बदाम र अन्य थुप्रै जडीबुटी राखेर बनाइन्छ। यस्तो मसला सुत्केरीको स्वास्थ्यका लागि निकै राम्रो हुन्छ। शरीरको दुखाइ कम गर्ने भएकाले महिला र पुरूष दुवैले रूचाएका छन्।
'गर्भवतीबाहेक सबैले खान मिल्छ। जिउ दुख्दा राम्रो गर्ने भएकाले पुरूषहरूले पनि खोज्नुहुन्छ। धेरै चाहिँ सुत्केरीकै लागि अर्डर आउँछ,' उनले भनिन्।
यसमा फूल, बोक्रा, जरा इत्यादि गरेर ५२ किसिमका वनस्पति प्रयोग भएको हुन्छ। जडीबुटी रामेछाप, जुम्ला, दाङ, कैलाली लगायत विभिन्न ठाउँबाट ल्याउँछिन्। जाडो र गर्मी दुवै मौसममा खाने मसला एकै हो। उनी अर्डर आएपछि मात्रै बनाउँछिन्।
'अग्रिम तयार हुँदैन। जति अर्डर आयो त्यति बनाउने हो, बाँकी रहँदैन। अर्डर गरेको भोलिपल्ट मसला उपलब्ध हुन्छ,' निशाले भनिन्।
उनले बनाएको अचारको पनि राम्रो माग छ। अचार पनि उनी अर्डरअनुसारै बनाउँछिन्। चिकेन र मटनको अचार सबभन्दा धेरै बिक्छ।
कम्पनीका उत्पादन स्वदेशसँगै विदेशसम्म पुगिसकेका छन्।
रामेछापमा जन्मिएकी निशा अनेक ठक्कर खाँदै यहाँसम्म आइपुगेकी हुन्।
उनी आठ वर्षको उमेरमा आफन्तका साथ लागेर काठमाडौं आएकी थिइन्। यहाँ विशालनगरस्थित एक घरमा घरेलु कामदार भइन्। उनी घरका सबैजसो काम गर्थिन्। सुत्केरी मसला बनाउन पनि त्यहीँ सिकेकी हुन्।
निशाले पढ्न पाइनन्। तर 'मान्छेले पढेरभन्दा धेरै परेर जान्दछ' भन्ने भनाइ उनको जीवनमा ठ्याक्कै मेल खान्छ।
उनको तेह्र वर्षकै उमेरमा बिहे भयो। एक वर्षपछि आमा बनिन्। तर श्रीमानसँग सम्बन्ध राम्रो भएन।
पेट पाल्न उनले केही न केही काम गर्नैपर्यो। तर घरेलु कामदारबाहेक अरू अनुभव उनीसँग थिएन। साथमा सानी छोरी थिइन्।
उनको संघर्ष सुरू भयो।
त्यो बेला उनले सडकमा काँक्रा बेचिन्। केही समय यसरी नै गुजारा चलाइन्। त्यसपछि तरकारी पसल, कस्मेटिक, हार्डवेयर हुँदै मदिराको डिलरसम्मको काम गरिन्।
एकपछि अर्को गर्दै व्यावसायिक यात्रामा दौडिएकी निशा केही वर्ष घरमै बसिन्। दिनभर घरमा खाली भइन्। त्यही बेला उनले आफ्नो पुरानो सीप र रूचि सम्झिएर सुत्केरी र अचार बनाएकी हुन्।
यसरी निशाको माया र मसलाको यात्रा सुरू भएको हो।
'अब अरू उत्पादन थप्ने सोच छैन। बरू चाँडै पसल खोल्ने सोच छ,' निशाले भनिन्।