सभामुख देवराज घिमिरेलेराजनीतिक नेतृत्वले समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउन विशेष योजना, मार्गचित्र निर्माण गरी कार्यारम्भ गर्न जरूरी रहेको बताएका छन्।
नयाँ वर्ष २०८० का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीहरूमा सुख, शान्ति, समृद्धि र आरोग्यताको शुभकामना व्यक्त गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई मजबुत बनाउँदै जनताको विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने अभियानलाई तीव्रता दिनैपर्ने बेला भएको उल्लेख गरेका छन्। नयाँ वर्ष प्रवेश गरिरहँदा आर्थिक क्षेत्रमा सकारात्मक सङ्केतहरू देखिन थालेको उनको भनाइ छ।
‘राज्यका तीन अङ्गमध्ये कानून निर्माण गर्ने मुख्य थलो संसद् हो, प्रतिनिधिसभाले विधेयकहरूमाथिको छलफल सुरु गरेको छ, संसद्लाई अझै प्रभावकारी र गतिशील बनाउन सबै राजनीतिक दलसँग छलफल भइरहेको छ,’ सन्देशमा भनिएको छ।
उनले जनसहभागिता, राजनीतिक सहमति, सहकार्यका आधारमा संसद्ले बनाउने कानूनले आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र सुशासन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिएको लिँदै जनताको सार्वभौमसत्ता प्रयोग हुने संसद्लाई प्रभावकारी बनाउँदै जनमुखी र प्रगतिशील कानून निर्माण गर्न प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।
नयाँ वर्षमा प्रवेश गरिरहँदा हामीले विगतको वर्षको समीक्षा गर्न पनि आवश्यक छ। विसं २०७९ मा तीनवटा निर्वाचन सम्पन्न भई मुलुक नयाँ जनप्रतिनिधिको काँधमा आएको उल्लेख गर्दै उनले राजनीतिक रूपमा अघिल्लो वर्ष परिवर्तनको वर्ष भए पनि आर्थिक र पूर्वाधार विकासमा भने उल्लेख्य प्रगति हुन नसकेको उल्लेख गरे।