नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले वर्तमान अवस्थामा कांग्रेसका नेता तथा कार्यकर्ता एक ढिक्का हुनुपर्ने बताएका छन्।
नेपाली कांग्रेस मोरङद्वारा नयाँ वर्ष २०८० को उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले प्रजातान्त्रिक पार्टीभित्र रहेको विगतका तिक्ततालाई पार्टीका सम्पूर्ण कार्यकर्ता एवं नेतृत्वले बिर्सेर एक ढिक्का भएको विचार राखे।
उनले कांग्रेसका कार्यकर्ताहरूलाई आगामी दिनमा बहुमत सरकारको निर्माण गर्ने उद्देश्यले आगाडि बढ्नसमेत आग्रह गरे। वर्तमान उपनिर्वाचनमा कांग्रेसका दुई उम्मेदवारलाई विजयी गराउनुपर्ने भन्दै उनले कार्यकर्ताले ‘साथीलाई होइन पार्टीलाई’ आफ्नो क्षेत्रबाट सहयोग गर्न पनि आग्रह गरे।
पार्टीका पूर्वउपाध्यक्ष विजयकुमार गच्छदारले कानुनी राज्य, संसदीय प्रजातन्त्रलाई स्थायित्व र राजनीतिक स्थिरता कायमका लागि कांग्रेसको काँधमा ठूलो जिम्मेवारी रहेको बताए।
लामो इतिहास बोकेको कांग्रेससमक्ष रहेका विभिन्न चुनौती समाधान गर्न वर्तमान अवस्थामा युवा पिँढीको साथ र सहयोग आवश्यक रहेको पनि उनको भनाइ थियो।
प्रदेश सभा सदस्यद्वय गयानन्द मण्डल र अमृत अर्यालले जनतालाई विकास र समृद्धिको अनुभूति हुने गरी कार्य गर्न दलका नेता एवं कार्यकर्ता लाग्नुपर्ने बताए।