राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको ८ सदस्यीय प्रतिनिधि मण्डल रूस प्रस्थान गरेको छ।
बुधबार बिहान अध्यक्ष तिमिल्सिनासहित राष्ट्रियसभा सदस्य वामदेव गौतम, रमेशजंग रायमाझी, दिलकुमारी थापा रावल पार्वती लगायतको ८ सदस्यीय टिम रूस प्रस्थान गरेको हो।
प्रस्थान गर्नुअघि सञ्चारकर्मीहरूसँगको कुराकानीमा अध्यक्ष तिमिल्सिनाले भ्रमणमा उच्चस्तरीय भेटघाट र दुई देशका संसदबीच सम्झौता हुने बताए।
उनले दुई देशको संसदीय गतिविधिको बारेमा जानकारी गराउने, भ्रमणको आदान-प्रदान गर्ने, संसदलाई प्रभावकारी बनाउन एक अर्काबीच सिक्ने कुराहरू उल्लेख हुने बताए।
उनले भ्रमणमा ९ जना उच्चस्तरीय व्यक्तित्वहरूसँग भेट गर्ने कार्यसूची रहेको बताए।
उनले भने, ‘उच्चस्तरीय भेटघाट हुनेछन्। दुई देशका संसदहरूको बीचमा एमओयु पनि हामी गर्नेछौं। दुई देशको संसदीय गतिविधिको बारेमा जानकारी गराउने, भ्रमणको आदान प्रदान गर्ने, संसदलाई प्रभावकारी बनाउन एक अर्काबीच सिक्ने कुराहरू उल्लेख हुनेछ। दुवै सदनका प्रमुख र त्यहाँका सरकारी उच्च अधिकारीसँग र व्यवसायिक व्यक्तित्वहरूसँग र प्रदेश प्रमुखसहित करिब ९ जना विशिष्ट व्यक्तित्वसँग हाम्रो भेट हुनेछ। वैशाख १२ गते दिउँसो ४ः४५ बजे करिब हामी यहाँ आउनेछौं।’
भ्रमण टोलीमा रहेका राष्ट्रियसभा सदस्य वामदेव गौतमले दुई देशका संसदबीचको सम्बन्ध सुदृढ गर्ने सन्दर्भमा भ्रमण हुन लागेको बताए।
उनले रूसले राष्ट्रिय सभाको प्रतिनिधित्व हुनेगरी उच्चस्तरको भ्रमण पहिलो पटक बोलाएको बताए।
उनले आफूहरू नेपाली जनताको सद्भाव बोकेर रूस प्रस्थान गर्न लागेको भन्दै नेपाली जनता, नेपाल सरकार, राष्ट्रियसभा संघीय संसदको सद्भावसमेत रूसमा व्यक्त गर्ने बताए। भ्रमण पूर्ण रूपमा सफल हुने उनको विश्वास छ।
उनले भने, ‘दुई देशका संसदबीचको सम्बन्ध सुदृढ गर्ने सन्दर्भमा हाम्रो भ्रमण हुँदैछ। यो सम्भवतः रूसले हाम्रो राष्ट्रिय सभाको प्रतिनिधित्व हुनेगरी यति उच्चस्तरको भेट उच्चस्तरको भ्रमण पहिलो होला जस्तो लाग्छ मलाई हाम्रो यस पटकको भ्रमणको महत्व धेरै छ। उच्चस्तरीय भेट भइसकेपछि हाम्रो तर्फबाट अध्यक्षले सम्पूर्ण विषयहरू राख्नुहुनेछ। नेपाली जनताको सद्भाव बोकेर रूस जाँदैछौं। नेपाली जनता, नेपाल सरकार, राष्ट्रियसभा संघीय संसदको समेत हाम्रो सद्भाव रूसमा गएर व्यक्त गर्नेछौं। उताबाट पनि त्यत्तिकै महत्वका साथ हाम्रा सम्बन्धहरू भविष्यमा विकसित हुँदै जाने र नेपालको भ्रमण गर्ने अवस्था आउने नै छ। सद्भाव पूर्ण रूपले सफल हुनेछ।’
राष्ट्रियसभा अध्यक्षको नेतृत्वमा रूस प्रस्थान गरेको ८ सदस्यीय भ्रमणकारी टोली वैशाख १२ गते दिउँसो स्वदेश फर्किने कार्यतालिका छ।