काठमाडौं महानगरपालिकाले सिंहदरबार, राष्ट्रपति कार्यालय, मन्त्रीहरूको क्वार्टर लगायतका ठाउँमा फोहोर नउठाएको भन्दै सर्वोच्च अदालतमा परेको रिटको आज सुनुवाइ हुँदैछ।
अधिवक्ता पदम श्रेष्ठले फोहोर उठाउने आदेश माग गर्दै दिएको रिटमा न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सुनुवाइ हुन लागेको हो।
फोहोर उठाउने जिम्मेवारीबाट महानगर पन्छिन नपाउने रिटमा उल्लेख छ।
केन्द्र सरकार र स्थानीय सरकारले समन्वय गरेर काम गर्नुपर्नेमा नगरेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदलाई पनि रिटमा विपक्षी बनाइएको छ।
यसअघि मंगलबार उक्त मुद्दा न्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा परे पनि हेर्न भ्याइएको थिएन।
काठमाडौं महानगरले ती स्थानमा फोहोर नउठाएको ११ दिन बितिसकेको छ।
महानगरका प्रवक्ता नवीन मानन्धर सरकारसँग वार्ता भएपछि मात्रै फोहोर उठ्ने जिकिर गर्छन्।
काठमाडौं महानगरपालिकाका अधिकारीका अनुसार मेयर बालेन यो विषयमा प्रधानमन्त्री तहमा वार्ता गर्न मात्र तयार छन्।