नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी उपाध्यक्ष विष्णु पौडेल र आफूबीच कुनै मतभेद र विवाद नरहेको स्पष्ट पारेका छन्।
पार्टीका हरेक निर्णयहरूमा उपाध्यक्ष पौडेल र आफूले छलफल गरेर टुंग्याउने गरे पनि कतिपयले दुई जनाको बीचमा मतभेद छ भन्ने हल्ला फैलाइदिने गरेको उनले बताए।
एमाले लुम्बिनी प्रदेश कमिटीले बिहीबार बुटवलमा आयोजना गरेको मिसन ग्रासरूट अभियानको समीक्षा कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन्।
‘पार्टीका हरेक निर्णय गर्नुअघि विष्णु पौडेल र मैले अनौपचारिक छलफल र सल्लाह गरेर टुंगोमा पुग्ने गरेका हुन्छौं, आपसमा कुनै मतभेद पनि छैन तर, कतिपयले भने दुई जनाको बीचमा तानाताना छ भनेर हल्ला गरिदिन्छन्,’ उनले भने।
महासचिव पोखरेलले आफू र विष्णु पौडेलका बीचमा विवाद छ भनेर अनावश्यक रूपमा रमाउन र समय खेर नफाल्न आग्रह गरे।
‘पार्टीका पनि केही नेताहरू यही विषयमा अनावश्यक चर्चा गरेर समय खेर फालेको राम्रो होइन, यसमा सबै सचेत हुन जरूरी छ,’ उनले भने।
बुधबारदेखि सुरू भएको समीक्षा बैठकमा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, सचिव छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य डा. राजन भट्टराई, पोलिटब्युरो सदस्यहरू सूर्य थापा, खिमलाल भट्टराईलगायत प्रदेशमा विभिन्न तहका नेताहरू सहभागी रहेका थिए।