गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शुक्रबार सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेबसाइटमार्फत् सार्वजनिक सम्पत्ति विवरणमा उनले काठमाडौंमा घडेरी किनेको र चितवनमा रिसोर्टमा लगानी गरेको उल्लेख गरेका छन्।
मुख्यमन्त्री अधिकारीले प्रभु बैंकबाट ८० लाख ऋण लिएर २०७८ जेठमा चन्द्रागिरी नगरपालिका काठमाडौंमा ८ आना घडेरी किनेको उल्लेख गरेका छन्।
पोखरा–३१ चिप्लेटी स्थायी ठेगाना बताएका अधिकारीले पोखरा–१२ शान्तिटोलमा करिब ६ आना जग्गामा ८० लाखमा घर किनेको उल्लेख गरेका छन्। हाल उक्त घर जग्गाको मूल्य २ करोड पर्ने पनि उनले विवरणमा खुलाएका छन्।
उक्त घर जग्गा पैतृक सम्पत्ति बिक्रीबाट खरिद गरेको विवरणमा उल्लेख छ।
सम्पत्ति विवरणमा मुख्यमन्त्री अधिकारीले स्वआर्जनबाट नगद १५ लाख रुपैयाँ रहेको उल्लेख गरेका छन्।
यस्तै, विभिन्न बैंक तथा वित्तीय संस्थामा १० लाख नगद मौज्दात रहेको उल्लेख गरे पनि कुन बैंक तथा वित्तीय संस्थामा कति नगद भन्ने खुलाका छैनन्।
अधिकारीले आफूसँग तीन तोला सुन रहेको विवरणमा उल्लेख गरेका छन्। उक्त सुन पनि अंशवण्डाबाट प्राप्त गरेको बताएका छन्।
अधिकारीले पेश गरेको विवरणमा गण्डकी विकास बैंकमा २ हजार ४९७ कित्ता शेयर रहेको उल्लेख गरेका छन्।
उक्त शेयर कृषि आम्दानीबाट खरिद गरेको उल्लेख छ।
उनले खेतीपातीबाट वार्षिक ६ लाख आम्दानी गर्ने गरेको पनि विवरणमा उल्लेख छ।
पोखरामै अग्रगामी कृषि फार्ममा श्रीमती रमा पाण्डेको नाममा साढे १६ लाख लगानी रहेको पनि अधिकारीले विवरणमा पेश गरेका छन्।
मुख्यमन्त्री अधिकारीसँग अहिले स्कोर्पियो गाडी छ। उक्त गाडी कार बेचेर भएको आम्दानीमा थप लगानी गरेर ५० लाख रुपैयाँमा खरिद गरेको उल्लेख गरेका छन्।
यस्तै, मुख्यमन्त्री अधिकारीले चितवनमा बन्दै गरेको फ्रेस वेब रिसोर्टमा पनि लगानी गरेको उल्लेख गरेका छन्।
श्रीमती पाण्डेको नाममा उक्त रिसोर्टमा २० लाख बराबरको शेयर लगानी गरेको उनले विवरणमा खुलाएका छन्।
पाण्डे प्रावि दरबन्दीको स्थायी शिक्षक भएकाले श्रीमतीको सम्पत्ति विवरण यसअघि नै सरकारलाई बुझाइसकेको उनले उल्लेख गरेका छन्।
मुख्यमन्त्री अधिकारीको सम्पत्ति विवरण वेबसाइटमा देखिए पनि अन्य मन्त्रीहरूको भने सार्वजनिक छैन। मुख्यमन्त्री कार्यालयले अन्य मन्त्रीको सम्पत्ति विवरण भने प्राप्त भएको जनाएको छ।