गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आफ्नो सय दिनको उपलब्धीमा ४ जना क्रिकेट खेलाडीलाई ५० हजार नगदसहित सम्मान गरेको उल्लेख गरेका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार पत्रकार भेटघाटमार्फत् आफ्नो सय दिनको उपलब्धीमा खेलाडी सम्मानलाई पनि समावेश गरेका हुन्।
मुख्यमन्त्री अधिकारीले राष्ट्रिय क्रिकेट टोलीमा रहेका गण्डकी प्रेदशका खेलाडी करण केसी, अण्डर–१९ का खेलाडीहरू दीपक डुम्रे, सुवास भण्डारी र अर्जुन कुमाललाई चैत १४ गते नगद ५० हजारसहित सम्मान गरेका थिए।
युएईमा भएको आइसिसी अण्डर–१९ क्रिकेट एसिया छनोटमा नेपाल च्याम्पियन बन्दै सन् २०१४ मा श्रीलङ्कामा हुने अण्डर– १९ विश्वकप क्रिकेटमा नेपाल छनोट भएको भन्दै गण्डकीका तीन जना खेलाडीलाई प्रदेश सरकारले जनही ५० हजार नगदसहित सम्मान गरेको थियो।
सोही अवसरमा राष्ट्रिय टोलीबाट खेलिरहेका गण्डकीकै खेलाडी करण केसीलाई उक्त सम्मान प्रदान गरेको थियो।
मुख्यमन्त्री अधिकारीले सार्वजनिक गरेको १८ बुँदे उपलब्धीमा मन्त्रालयको संख्या १२ बाट घटाएर ७ वटा बनाएको उल्लेख गरेका छन्। यसअघि कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले मन्त्रालयको संख्या ७ बाट बढाएर १२ वटा पुर्याएको थिए। अधिकारीले मन्त्रालय संख्या घटाएका थिए।
मुख्यमन्त्रीमा नियुक्त भएपछि पदभार ग्रहण गर्दा अधिकारीले मिर्गौला रोगबाट पीडित बिरामीलाई नि:शुल्क डायलासिस सेवा दिने निर्णय पनि उपलब्धीमा समेटिएका छन्।
उक्त निर्णय अनुसार अस्पतालहरूमा आवश्यक जनशक्ति र उपकरण जडान भइरहेको भन्दै अब दैनिक तीन सय बिरामीले सेवा पाउने उनले बताएका छन्
उपलब्धीमा प्रदेश निजामती सेवा ऐन, स्थानीय सेवा गठन तथा संचालन ऐन, नियमावली जारी गर्नु र ३४ वटा ऐन संशोधन गरेको विषय पनि समावेश गरेका छन्।
कोभिड–१९ बाट प्रभावित व्यवसायीलाई सहुलियत दरमा ऋण प्रवाह गर्न प्रदेशले बनाएको व्यवसाय जीवन रक्षा कोषको कर्जा व्याज सहुलियतका लागि १३ करोड निकासा गरेको, ५० भन्दा बढी सडक, जलविद्युत लगायतका लागि संघीय सरकारसँग माग गरेको, कृषि बिमा नि:शुल्क गरेको, स्वास्थ्य क्षेत्रमा रूपान्तरण गर्न मेगा प्रोजेक्टको अवधारणा संघीय सरकारलाई पेश गरेको पनि मुख्यमन्त्रीले आफ्नो उपलब्धीमा राखेका छन्।
आफू मुख्यमन्त्री बनेपछि सय दिनमा २४१ वटा योजनाहरूको ठेक्का सम्झौता भएको, ५१.८ किमी सडक पिच गरेको र तीनवटा सडक पुल निर्माण सम्पन्न गरेको अधिकारीले उल्लेख गरेका छन्।
लिफ्टिङ प्रविधिको खानेपानीमा लाग्ने बिजुलीको महसुल अनुदान दिने, एक स्थानीय तह एक खेलमैदान कार्यक्रम अन्तर्गत १५ वटा खेल मैदान बनाउन सम्झौता गरेको, स्थानीय तहमा ७७ जना प्राविधिक खटाएको, प्रदेश समन्वय परिषद् बैठक बसेको, भारतको अयोध्यामा म्याग्दीबाट २ वटा शिला पठाएको पनि मुख्यमन्त्रीले उपलब्धीमा राखेका छन्।
मंसिर ४ मा भएको निर्वाचनपश्चात् गण्डकीमा माओवादी र राप्रपाको समर्थनमा एमाले नेता अधिकारी पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए।
संघीय सरकारमा सत्ता गठबन्धन फेरिएसँगै गण्डकीमा सहभागी माओवादी मन्त्रीहरू हरिबहादुर चुमान र रेशम जुग्जालीले राजीनामा दिइसकेका छन्।
गण्डकी सरकारमा अहिले एमालेबाट मुख्यमन्त्रीसीहित चार जना र राप्रपाका एक जना मन्त्री छन्।
माओवादीले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि सरकार अल्पमतमा छ।
शनिबार गण्डकी प्रदेश सभा बैठक बोलाइएको छ। उक्त बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने बताएका छन्।