उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रियाको बाँकी कामलाई जसरी पनि पूरा गर्नुपर्ने बताएका छन्।
उनले शनिबार काठमाडौंमा प्रेस सेन्टर नेपाल, उपत्यका प्रदेश समितिको वार्षिक साधारण सभामा बोल्दै यो प्रक्रियालाई जसरी पनि पूरा गर्नुपर्ने बताएका हुन्।
यो प्रक्रियालाई पूरा हुन नदिन विभिन्न प्रयत्नहरू भइरहेको बताउँदै त्यसलाई असफल पार्दै अघि बढ्नुको विकल्प नरहेको पनि बताए।
‘यो शान्ति प्रक्रियाको बाँकी काम अहिले हामीले हरहालतमा पूरा गर्नुछ। धेरै दशकभन्दा बढि बित्यो। डेढ देश वितिसक्यो। तर हामीले शान्ति प्रक्रियाको काम पूरा गर्न सकिरहेका छैनौं,’ उनले भने, ‘संविधान जारी गरेको मात्रै कुरा गर्ने हो भने पनि ७ वर्ष बितिसक्यो। तर हामीले यो काम पूरा गरेका छैनौं। र, यो कामलाई पूरा हुन नदिन एउटा वा अर्को रूपमा विभिन्न प्रयत्नहरु भइराखेका छन्।’
यस्तै अर्थतन्त्रमा देखिएका समस्यालाई पनि सम्बोधन गर्दै सरकार अघि बढ्ने बताए।
‘जनताको अपेक्षा पूरा गर्न, हाम्रो प्रतिबद्धता पूरा गर्न र यो परिवर्तनको औचित्य पुष्टि गर्न हामीले समृद्धिको यात्रालाई तीव्रता प्रदान गर्नुपर्छ। र, फड्को मार्ने दिशामा पुर्याउनु पर्दछ भन्ने हाम्रो अर्को कार्यभार हो,’ उनले भने।