नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले ध्वस्त बनाएको बताएका छन्।
कम्युनिष्ट पार्टी एकता र एकीकरणको माध्यमबाट दुई तिहाईको अवस्थामा पुगेपनि प्रचण्ड र माधव नेपालहरू सस्तोमा बिकेका कारणले ध्वस्त बनाएको आरोप लगाए।
नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर शनिबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उनीहरू कतिमा बिके भन्ने कुरा बाहिरबाट नदेखिएको र भित्री कुरा आफूहरूले नबुझेको समेत बताए।
‘कुनै पनि कम्युनिष्टहरू हाम्रै पार्टीबाट गएका हुन है। प्रचण्ड कहाँबाट गएका ? यही कम्युनिष्ट पार्टीबाट ऐझेरू पलाएझैं पलाएको त हो नि। २००६ सालमा कहाँ दुई, तीन वटा पार्टी बनेको थियो र। यो पार्टी त पछिसम्म एउटै थियो,’ उनले भने, ‘दुई तिहाई पुर्यायौं हामीले पार्टी विस्तार गरेर, निर्माण गरेर। पार्टी एकता र एकीकरण गरेर। तर टुप्पामा बस्ने नेताहरूलाई सही सक्नु भएन। र, उनीहरू विके। यत्तिकै उनीहरूले भोलेन्टरिइली कम्युनिष्ट पार्टी ध्वस्त पारेको होइन होला।’
उनले थपे, ‘कुनै कारणविना कम्युनिष्ट पार्टी ध्वस्त पारेको होइन होला। सस्तो मुल्यमा।के, कस्तो मूल्यमा भन्ने कुरा उनले जान्ने कुरा हो। बाहिरबाट देखिने कतिपय स–साना कुराहरू हामी पनि देख्छौं। तर भित्री कुरा हामीलाई थाहा छैन।’
यस्तै उनले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको पार्टीको झन्डा बोकेर हिँड्नु नै बेकार रहेको पनि बताए। उनले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने र १० वर्ष भित्र मुलुकबाट गरिबी समाप्त पारिदिने दाबी समेत गरे।
‘म घोषणा गर्न चाहन्छु–आउँदो निर्वाचनमा नेकपा एमालेले एक्लै बहुमत ल्याउने छ। रोक्ने शक्ति कोही छ भने रोक्नुस्। यस अभियानलाई रोक्न सक्ने कोही छ भने रोकोस्। यो लुकेर भनिएको छैन। खुलेआम भनिएको छ,’ उनले भने, ‘आउँदो निर्वाचनमा नेकपा एमालेले एक्लै बहुमत ल्याउँछ। अर्को त्यसपछिको १० वर्षमा नेकपा एमालेले विकासशील राष्ट्रको राम्रै स्तरमा यस देशलाई उकास्छ। र, यस देशबाट गरिवी भन्ने कुरा समाप्त पार्ने छ।’