चितवन निर्वाचन क्षेत्र नम्बर २ मा मतदान सुरु भएको छ।
यहाँबाट राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपाने उम्मेदवार छन्। अन्य १९ जना उम्मेदवार पनि चुनावी मैदानमा छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी ईश्वर आचार्यकाअनुसार यस क्षेत्रमा ४३ मतदानस्थल र १३८ केन्द्र छन्। ६९० कर्मचारी निर्वाचनमा खटिएका छन्। यस क्षेत्रमा एक लाख २४ हजार ६९५ मतदाता रहेका रहेको उनले बताए।
तीमध्ये ६३ हजार २९१ महिला, ६१ हजार ४०३ पुरुष र एक जना तेस्रोलिङ्गी रहेका छन् । निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले आइतबार अत्यावश्यकबाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाएको छ।
निर्वाचन आयोगद्वारा जारी भएको मतदानको दिन सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७९ बमोजिम अत्यावश्यक एम्बुलेन्स, दमकल र जिल्ला प्रशासन कार्यालयबाट अनुमती लिएकाबाहेक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
गत मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने निर्वाचित भएका थिए। नागरिकता विवादका कारण लामिछानेको सांसद पद खारेज भएपछि यहाँ उपनिर्वाचन गरिएको हो।