परराष्ट्रमन्त्री नारायणप्रकाश साउद (एनपी) ले संखुवासभाको उत्तरी सीमानाका किमाथांका सुचारू गर्ने विषयलाई उच्च प्राथमिकता दिने प्रतिवद्धता जनाएका छन्।
आइतबार मन्त्रालयमा संखुवासभा जिल्लाका प्रतिनिधि र कोशी प्रदेशका सांसदहरूले संयुक्त रूपमा किमाथांका नाका खोल्न चीन सरकारसँग पहल गरिदिन बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै मन्त्री साउदले किमथांका नाका सञ्चालन गर्ने कुरा आफ्नो पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता जनाए।
किमाथांका नाका ऐतिहासिक नाका भएको र पूर्वको व्यापार व्यवसायलाई प्रत्यक्ष फाइदा पुग्ने नाका भएकाले नाका खोल्नेकुरा पहिलो प्राथमकितामा राख्ने उनले बताए। उनले नेपाल र चीनबीचको सम्बन्धलाई बढाउन र व्यापार व्यवसाय पनि बिस्तार गर्नका लागि किमथांका नाका सहज र छोटो दूरीको माध्यम बन्ने बताए।
चीन सरकारसँग नाका खोल्नका लागि आवश्यक पहल गर्ने उनले बताए।
‘किमाथांका नाकाको बारेमा भन्नुभएको छ, यो महत्वपूर्ण नाका छ। उत्तरतिरको पूर्वतिरको व्यापारका लागि अत्यन्तै महत्वपूर्ण नाकाका रूपमा रही आएको छ। दुई देशको सम्बन्ध र व्यापारका रूपमा प्रयोग हुँदै आएको छ। नाका खोल्नका लागि अहिले चीन सरकारसँग छलफल भइरहेको छ, यसलाई उच्च प्राथमिकता दिनेछु,’ उनले भने।
जिल्लाका प्रतिनिधिहरूले नेपालका लागि व्यावसायिक हिसाबमा चीनसँगको नाका महत्वपूर्ण भएकाले सबै नाका खुलाउनसमेत पहल गर्न आग्रह गरेका छन्। पहिचानमा रहेका थोरै सीमानाकामध्ये संखुवासभा जिल्लास्थित उत्तरको नाका किमाथांकालाई खुलाउन विशेष जोड गर्न आग्रह गरेका छन्।