तनहुँ-१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ३७ मत खसेको छ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार उक्त क्षेत्रमा ६९ वटा मतदान स्थलका १५२ मतदान केन्द्रमा आज मतदान भएको थियो। बिहान ७ बजे सुरू भएको मतदान दिउँसो ५ बजे सकिएको जिल्ला निर्वाचन प्रमुख हरि ढकालले जानकारी दिए।
ढकालका अनुसार उक्त क्षेत्रमा १ लाख २३ हजार ३०५ जना मतदाता छन्। तनहुँ–१ मा नेपाली कांग्रेसका तर्फबाट गोविन्द भट्टराई, एमालेका तर्फबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट स्वर्णिम वाग्लेबीच मुख्य प्रतिस्पर्धा देखिएको छ।
जिल्ला निर्वाचन प्रमुख ढकालले मतपेटिका संकलन सुरू भइसकेको बताए।
‘नजिकका मतपेटिकमा संकलन सुरू भइसकेका छन्, देवघाटलगायत दुर्गमका मतपेटिका आउन १०/११ बज्ला,’ उनले भने, ‘मतपेटिका संकलन भइसकेपछि दलहरूसँग बस्छौं, सहमति भयो भने आजै मतगणना गर्न हामी तयार छौं।’