तनहुँ-१ मा आइतबार भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना सुरू भएको छ। जिल्ला समन्वय समितिको कार्यालयमा दुई ठाउँमा मत गन्न थालिएको निर्वाचन कार्यालयले जनाएको छ।
निर्वाचन क्षेत्रका ६९ वटै मतदान स्थलमा रहेका १५२ मतदान केन्द्रको मतपेटिका संकलन भएपछि बसेको सर्वदलीय बैठकले पौने ११ बजेबाट मतगणना गर्ने निर्णय गरेको थियो।
अहिले मतगणनास्थलमा भानु नगरपालिका वडा नम्बर १० बाट मत गन्ने तयारी भइरहेको छ। पाँचवटा मतपेटिकाका मतपत्र खसालिएका छन्। मतगणना स्थलमा तारबार लगाएर सिसी क्यामेरा जडान गरिएको छ।
तनहुँ-१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको थियो। निर्वाचन कार्यालय तनहुँका अनुसार उक्त क्षेत्रमा १ लाख २३ हजार ३ सय ५ जना मतदाता छन्।
तनहुँ–१ मा नेपाली कांग्रेसका तर्फबाट गोविन्द भट्टराई, एमालेका तर्फबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट स्वर्णिम वाग्लेबीच मुख्य प्रतिस्पर्धा देखिएको छ।
गत मंसिर- ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा उक्त क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका थिए । पौडेल राष्ट्रपति बनेपछि रिक्त तनहुँ-१ मा उपनिर्वाचन भएको हो।