तनहुँ-१ मा आइतबार भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको पहिलो मतपरिणाम प्राप्त भएको छ।
भानु नगरपालिका वडा नम्बर १० बाट सुरू भएको मतगणनामा अहिलेसम्म १७५८ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले सुरूआती अग्रता हासिल गरेका छन्। उनले ८४६ मत प्राप्त गरेका छन्।
उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५५१ मत ल्याएर पछ्याइरहेका छन्।
नेकपा एमालेका सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन्। उनले ३२९ मत पाएका छन्।
तनहुँ-१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको थियो। निर्वाचन कार्यालय तनहुँका अनुसार उक्त क्षेत्रमा १ लाख २३ हजार ३ सय ५ जना मतदाता छन्।
तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले, नेपाली कांग्रेसका गोविन्द भट्टराई र एमालेका सर्वेन्द्र खनालबीच मुख्य प्रतिस्पर्धा देखिएको छ।
गत मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उक्त क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका थिए। पौडेल राष्ट्रपति बनेपछि रिक्त तनहुँ-१ मा उपनिर्वाचन भएको हो।