तनहुँ-१ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा सोमबार बिहान ३ बजेसम्मको नतिजा प्राप्त भएको छ।
अहिलेसम्म भानु नगरपालिका-१० र आँबुखैरेनी गाउँपालिका-१ मा गरी ३२१६ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले अग्रता हासिल गरिरहेका छन्। उनले १९११ मत प्राप्त गरेका छन्।
उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले ८२७ मत ल्याएर पछ्याइरहेका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन्। खनालले ३८३ मत पाएका छन्।
तनहुँ-१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको थियो। निर्वाचन कार्यालय तनहुँका अनुसार उक्त क्षेत्रमा १ लाख २३ हजार ३ सय ५ जना मतदाता छन्।
मतगणनाको सुरूआत भानु-१० र आँबुखैरेनी-१ बाट भएको थियो।
भानु-१० मा १७५८ मत गन्दा वाग्लेले ८४६, भट्टराईले ५५१ र खनालले ३२९ मत पाएका छन्।
त्यस्तै, आँबुखैरेनी-१ मा १४५८ मत गन्दा वाग्लेले १०६५, भट्टराईले २७६ र खनालले ५४ मत पाएका छन्।
तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले, नेपाली कांग्रेसका गोविन्द भट्टराई र एमालेका सर्वेन्द्र खनालबीच मुख्य प्रतिस्पर्धा देखिएको छ।
गत मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उक्त क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका थिए। पौडेल राष्ट्रपति बनेपछि रिक्त तनहुँ-१ मा उपनिर्वाचन भएको हो।