तनहुँ-१ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा सोमबार बिहान ५ बजेसम्मको मतगणनाको नतिजा प्राप्त भएको छ।
अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले निकटतम् प्रतिस्पर्धीभन्दा दोब्बरभन्दा बढी मतले अग्रता हासिल गरिरहेका छन्। उनले ३४२२ मत पाएका छन्।
उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले १५९७ मत ल्याएर पछ्याइरहेका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन्। खनालले १०९० मत ल्याएका छन्।
तनहुँ-१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको थियो। निर्वाचन कार्यालय तनहुँका अनुसार उक्त क्षेत्रमा १ लाख २३ हजार ३ सय ५ जना मतदाता छन्।
तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले, नेपाली कांग्रेसका गोविन्द भट्टराई र एमालेका सर्वेन्द्र खनालबीच मुख्य प्रतिस्पर्धा देखिएको छ।
गत मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उक्त क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका थिए। पौडेल राष्ट्रपति बनेपछि रिक्त तनहुँ-१ मा उपनिर्वाचन भएको हो।