माओवादी वर्चश्वको रहेको तनहुँ-१ को आँबुखैरेनी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले अत्यधिक मत पाएका छन्। ६ वडा रहेको यो गाउँपालिकाको मतगणना सकिसकेको छ।
यहाँ कूल सदर मत कति थियो भन्ने थाहा भइसकेको छैन। तर तनहुँ-१ का प्रमुख तीन प्रतिस्पर्धी उम्मेदवार वाग्ले, नेपाली कांग्रेसका गोविन्द भट्टराई र नेकपा (एमाले) का सर्वेन्द्र खनालले जम्मा ६६८८ मत पाएका छन्।
त्यसमध्ये स्वर्णिम वाग्लेले ४४४५ अर्थात् ६६ प्रतिशत मत पाएका छन् भने कांग्रेसका भट्टराई १६४८ अर्थात् २५ प्रतिशत मत प्राप्त गरेका छन्। त्यस्तै एमालेका खनालले ५९६ अर्थात् ९ प्रतिशत मत पाएका छन्।
गएको स्थानीय चुनावमा आँबुखैरेनी गाउँपालिकामा कांग्रेस, एमाले र माओवादी केन्द्र एक्लाएक्लै चुनाव लडेका थिए।गाउँपालिका अध्यक्ष र उपाध्यक्ष नै माओवादीले जितेको छ। यहाँ माओवादीले ३९४० मत पाएर अध्यक्ष जितेको थियो भने कांग्रेसका अध्यक्ष उम्मेदवार २२३० मत पाएका थिए।
तीन वटा वडामा अध्यक्ष जितेको माओवादी केन्द्रका अरू तीन वडामा दोस्रो भएको थियो।
आँबुखैरेनी-१ मा यसपालि एक हजार चार सय ५८ मत खसेकामा रास्वपाका स्वर्णिम वाग्लेले एक हजार ६५, कांग्रेसका गोविन्द भट्टराईले दुई सय ६५ र नेकपा एमालेका सर्वेन्द्र खनालले ५४ मत पाएका छन्।
उक्त वडामा स्थानीय निर्वाचनमा माओवादी केन्द्र विजयी भएको थियो। माओवादीले वडामा आठ सय ५९ मत पाएको थियो। कांग्रेसले चार सय १५ र एमाले तीन सय ५१ मत पाएको थियो।
आँबुखैरेनी-२ मा एक हजार तीन सय ९२ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ८१, कांग्रेसका भट्टराईले तीन सय ३६ र एमालेका खनालले एक सय आठ मत पाएका छन्। उक्त वडामा स्थानीय निर्वाचनमा माओवादी केन्द्रका आसबहादुर गुरुङ विजयी भएका थिए। उनले छ सय ६७ मत प्राप्त गरेका थिए। कांग्रेसका सरोज पन्तले चार सय ९५ मत र स्वतन्त्र उम्मेदवार कटक बहादुर थापाले तीन सय ५ मत ल्याएका थिए।
आँबुखैरेनी-३ को २१७३ मतमध्ये वाग्ले एक्लैले १५१५ मत पाएका छन् भने भट्टराईले ४०१ र खनालले १९१ मत ल्याएका छन्। वडा नं ३ आँबुखैरेनीको बजार क्षेत्र हो। स्थानीय तह निर्वाचनमा यो वडाको अध्यक्ष कांग्रेसले जितेको थियो। कांग्रेसका दिनेश केसीले १ हजार ८ मत प्राप्त गरेका थिए। माओवादी केन्द्रका विमल बाबु रानाले ६ सय ५ मत र एमालेका पूर्णबत्रहादुर आलेले ४ सय ४९ मत प्राप्त गरेका थिए।
आँबुखैरेनी-४ को ६९४ मतमध्ये वाग्लेले ३३२, भट्टराईले २३७ र खनालले ८५ मत पाएका छन्। आँबुखैरेनीको वडा नं ४ मा कांग्रेसका मिलन भुजेलले ४ सय ३३ मत पाएका थिए भने माओवादी केन्द्रका नेत्रबहादुर रानाले २ सय १९ मत र एमाले वृखबहादुर गुरुङले १ सय ७६ मत पाएका थिए।
आँबुखैरेनी-५ मा ५७० मतमध्ये वाग्लेले ३७१, भट्टराईले १४९ र खनालले २८ मत पाएका छन्। उक्त वडामा स्थानीय तह निर्वाचनमा सन्तोष गुरुङ विजयी भएका थिए। उनले २ सय ८८ मत ल्याएका थिए भने एमालेका चित्रबहादुर आलेमगरले २ सय ८० र कांग्रेसका कर्णबहादुर गुरुङले २ सय ६९ मत प्राप्त गरेका थिए।
आँबुखैरेनी- ६ को ७०४ मतमध्ये वाग्लेले २८१, भट्टराईले २५९ र खनालले १३० मत पाएका छन्।
यो वडामा नेकपा एमाले विजयी भएको थियो। एमालेका दीलिप गुरूङले २९० मत प्राप्त गरेका थिए। माओवादी केन्द्रका प्रवीण गुरूङमात्र ३ मतले पराजित भएका थिए। उनले २ सय ८७ मत प्राप्त गरेका थिए। त्यस्तै कांग्रेसका मेखबहादुर गुरूङले २२८ मत ल्याएका थिए।