अहिले चितवन-२, तनँहु-१ र बारा-२ गरी तीन वटा उपनिर्वाचन क्षेत्रको मतगणना जारी छ।
अपराह्न पाँच बजेसम्मको परिणाम अनुसार चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उम्मेदवार रवि लामिछानेले अग्रता कायमै राखेका छन्।
पछिल्लो मतपरिणाम अनुसार लामिछाने ३ हजार ६०२ मतसहित अगाडि छन्। उनलाई नेकपा एमालेका रामप्रसाद न्यौपानेले २ हजार ८२ मतसहित पछ्याइरहेका छन्। यस्तै नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठ एक हजार ४९४ मतसहित तेस्रो स्थानमा छन्।
इच्छाकामनाको मतपेटिकाबाट गणना सुरू गरिएकोमा सुरूआती अग्रता एमालेका रामप्रसाद न्यौपानेले लिए पनि पछि रास्वपाका लामिछानेले अग्रता उल्टाएका हुन्। अहिले पनि लामिछानेले निरन्तर अग्रता कायम राखेका छन्।
तनँहु क्षेत्र नम्बर १ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीकै स्वर्णिम वाग्लेको अग्रता छ। झन्डै आधा मत गणना गरिसक्दा वाग्लेले फराकिलो मतान्तरलाई कायमै राखेका छन्। वाग्लेले १८ हजार ५६१ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोविन्द भट्टराईले १० हजार ८१४ मत पाएका छन्। यस्तै नेकपा एमालेका सर्वेन्द्र खनाल ६ हजार ६८ मतसहित तेस्रो स्थानमा छन्।
रास्वपाका वाग्लेले सुरूआतीदेखि नै अग्रता लिएका थिए।
बारा क्षेत्र नम्बर २ मा भने जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपेन्द्र यादवले अग्रता उल्टाएका छन्। यसअघि जनमत पार्टीका शिवचन्द्र कुशवाहाको अग्रता रहेकोमा यादवले अहिले ८९ मतले अग्रता लिएका छन्।
पछिल्लो मतपरिणाम अनुसार यादवको एक हजार ३९० मत छ भने कुशवाहाको एक हजार ३०१ मत रहेको छ। नेकपा एमालेका पुरूषोत्तम पौडेल ६२९ मतसहित तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल २५९ मतसहित चौथो स्थानमा छन्।