मतगणना जारी रहेका तनहुँ-१, चितवन-२ र बारा-२ गरी तीन उपनिर्वाचन क्षेत्रमध्ये तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेको जित सुनिश्चित भएको छ।
राति १२ बजेसम्मको परिणामअनुसार ६ वटा मात्रै वडाको मतगणना बाँकी रहँदा वाग्ले र उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईको मतान्तर १२ हजार नाघेको छ।
अहिलेसम्म ३६ वटा वडाको मतगणना सकिँदा वाग्लेले १२ हजार १९ मतान्तरले भट्टराईलाई पछि पारेका छन्।
कुल ६३ हजार ७ सय ५७ मत खसेकामा अहिलेसम्म ५३ हजार १ सय २८ मतगणना भइसकेको छ। अब १० हजार ६ सय २९ मत गन्न बाँकी छ।
वाग्लेले २७ हजार ९ सय ८८ मत ल्याएका छन्। हालसम्म गनिएको मतका आधारमा वाग्लेले प्राप्त गरेको मत ५२.६७ प्रतिशत छ।
यहाँ कांग्रेसका गोविन्द भट्टराईले १५ हजार ९ सय ६९ मत ल्याएका छन्। गणना भएको मतमध्ये उनले ३० प्रतिशत मत ल्याएका छन्।
एमाले उम्मेदवार सर्वेन्द्र खनालले कुल गणना भएको मतको १३.८८ प्रतिशत अर्थात् ७ हजार ३ सय ७९ मत ल्याएका छन्।
तनहुँ-१ मा अब व्यास नगरपालिकाका वडा नम्बर ७, ८, ९, १०, ११ र १२ को मतपरिणाम आउन बाँकी छ।
यहाँ रास्वपाका वाग्लेले सुरूआतदेखि नै अग्रता लिएका थिए। मतगणना अन्तिमतिर आइपुग्दा वाग्लेको मतान्तर फराकिलो भएपछि कांग्रेस उम्मेदवार भट्टराईले हार स्विकारेको अभिव्यक्ति आफ्नो फेसबुकमा व्यक्त गरेका छन्। उनले मतदातालाई धन्यवाद दिँदै आफूलाई अब्बल सावित गर्न नसकेको बताएका छन्।
त्यस्तै, चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेले अग्रता कायमै राखेका छन्। पछिल्लो मतपरिणामअनुसार लामिछाने १५ हजार ८७४ मतसहित अगाडि छन्।
नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठ ४ हजार १४५ मतसहित दोस्रो स्थानमा छन् भने नेकपा एमालेका रामप्रसाद न्यौपाने ३ हजार ९९९ मतसहित तेस्रो स्थानमा छन्।
बारा क्षेत्र नम्बर २ मा भने जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपेन्द्र यादवले आफ्नो अग्रता कायम राखेका छन्। उनले जनमत पार्टीका शिवचन्द्र कुशवाहालाई ८७४ मतान्तरले पछि पारेका छन्।
पछिल्लो परिणामअनुसार यादवले ४ हजार ७ सय १७ मत प्राप्त गरेका छन् भने कुशवाहाले ३ हजार ८ सय ४३ मत पाएका छन्।
नेकपा एमालेका पुरूषोत्तम पौडेल १ हजार ९ सय ३७ मतसहित तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल ७५२ मतसहित चौथो स्थानमा छन्।