मतगणना जारी रहेका तनहुँ-१, चितवन-२ र बारा-२ गरी तीन उपनिर्वाचन क्षेत्रमध्ये तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले विजयी भएका छन्।
हालै नेपाली कांग्रेस परित्याग गरी रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका वाग्लेले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ३ सय ८८ मतले हराएका हुन्।
वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याउँदा भट्टराईले २० हजार ९२ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ५ सय ५५ मत प्राप्त गरेका छन्।
तनहुँ-१ मा आइतबार भएको उपनिर्वाचनमा ६५ हजारभन्दा बढी मत खसेको थियो। यहाँ १ लाख २३ हजार ३ सय ५ जना मतदाता छन्। वाग्लेले कुल सदर मतको ५२ प्रतिशतभन्दा बढी हासिल गरेका छन्। दोस्रो स्थानमा रहेका भट्टराईले ३० प्रतिशत मत ल्याएका छन् भने खनालको मत प्रतिशत १३ छ।
त्यस्तै, चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेले अग्रता कायमै राखेका छन्। पछिल्लो मतपरिणामअनुसार लामिछाने १५ हजार ८ सय ७४ मतसहित अगाडि छन्।
नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठ ४ हजार १ सय ४५ मतसहित दोस्रो स्थानमा छन् भने नेकपा एमालेका रामप्रसाद न्यौपाने ३ हजार ९ सय ९९ मतसहित तेस्रो स्थानमा छन्।
बारा क्षेत्र नम्बर २ मा भने जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपेन्द्र यादवले आफ्नो अग्रता कायम राखेका छन्। उनले जनमत पार्टीका शिवचन्द्र कुशवाहालाई ८ सय ७४ मतान्तरले पछि पारेका छन्।
पछिल्लो परिणामअनुसार यादवले ४ हजार ७ सय १७ मत प्राप्त गरेका छन् भने कुशवाहाले ३ हजार ८ सय ४३ मत पाएका छन्।
नेकपा एमालेका पुरूषोत्तम पौडेल १ हजार ९ सय ३७ मतसहित तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल ७५२ मतसहित चौथो स्थानमा छन्।