चितवन क्षेत्र नम्बर २ मा मतगणना जारी छ। तर गणना गर्नुपर्ने मतभन्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेले धेरै मतान्तर बनाइसकेका छन्। लामिछानेको जित निश्चित भइसकेको छ।
रास्वपा सभापतिसमेत रहेका उम्मेदवार लामिछानेलाई नेपाली कांग्रेसबाट चितवन २ मा उम्मेदवार रहेका जितनारायण श्रेष्ठले बधाई दिएका छन्।
मतगणनाको अन्तिम परिणाम नआउँदै कांग्रेस उम्मेदवार जितनारायणले रास्वपा उम्मेदवार लामिछानेलाई बधाई दिएका हुन्।
‘जनताले परिवर्तन खोजेको र परम्परागत दलहरू सच्चिनुपर्छ भन्ने सन्देश दिएको छ,’ जितनारायणले पत्रकारहरूसँग भने, ‘मैले परिणामलाई स्वीकार गरेको छु। हार स्वीकार गरेको छु। अझै म जनताका काम गर्दै अघि बढ्छु। रविजीलाई बधाई छ। म उहाँलाई बधाई दिन आएको हुँ।’
पुराना राजनीतिक दलहरूप्रति जनताको आकर्षण नदेखिएको पनि श्रेष्ठले बताए। आफूलाई मत दिनेप्रति उनले आभार व्यक्त गरेका छन्।
कांग्रेस उम्मेदवार श्रेष्ठले रास्वपा उम्मेदवार रविलाई खादा लगाएर बधाईसमेत दिएका छन्।
लामिछानेले अहिलेसम्म ४५ हजार ८ सय ४२ मत ल्याइसकेका छन् भने जितनारायणले ८ हजार ४ सय २५ र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ८ हजार ३ सय ३० मत ल्याएका छन्।
यो पनि:
सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्छौं: रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो दलले सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने बताएका छन्।
चितवन-२ मा भएको उपनिर्वाचनमा विजयी हुने निश्चित भएपछि मंगलबार बिहान भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सरकारको न्यूनतम साझा कार्यक्रममा कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको छानबिन गर्ने लगायत बुँदा समावेश नभएकाले सरकारलाई समर्थन दिइरहनु औचित्यपूर्ण नहुने बताएका हुन्।
‘चुनावी माहौल सकिएपछि हामी काठमाडौंमा गएर सरकारलाई दिएको समर्थनको विषयमा छलफल गर्छौं,’ लामिछानेले भने,‘सरकारमा जाने त कुरै छैन।’
रास्वपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिए पनि उसले सरकारलाई दिएको समर्थन भने कायम राखेको छ।
उपनिर्वाचनपछि प्रतिनिधि सभामा रास्वपाका २१ सांसद हुने भएका छन्।