अर्थमन्त्री प्रकाशशरण महतले बजेटमा समावेश गरिने कार्यक्रमबारे पार्टीका सांसदहरूसँग सुझाव लिएका छन्।
आज बानेश्वरमा कांग्रेसका सांसदहरूसँग अर्थमन्त्री महतले आगामी बजेटबारे सुझाव मागेका हुन्।
कांग्रेस संसदीय दल बैठकमा बोलेका सांसदहरूले अर्थमन्त्री महतलाई जनमुखी बजेट ल्याउन सुझाव दिएका थिए।
बजेटमा शिक्षा, स्वास्थ्य, रोजगारी, पिछडिएका वर्ग, समुदाय र स्थानलाई केन्द्रित गरेर कार्यक्रम ल्याइनुपर्ने कांग्रेस सांसदहरूको सुझाव थियो।
प्रमुख सचेतक रमेश लेखकले जनतामुखी बजेट ल्याउन पार्टीका सांसदहरूले अर्थमन्त्रीलाई सुझाव दिएको उनले बताए।
‘सानो पुँजीबाट पनि कसरी जनतामुखी कार्यक्रम र योजना ल्याउन सकिन्छ भन्ने विषयमा छलफल भयो,’ उनले भने, ‘बजेटका सिद्धान्त, प्राथमिकता र आधारका बारेमा सांसदहरुले आफ्नो राय दिनुभयो।’
बैठकमा अर्थमन्त्री महतले जनमुखी बजेट ल्याउने र रोजगार, शिक्षा, स्वास्थ्य, पूर्वाधार, उत्पादन वृद्धि र बजार विस्तारमा सहज हुने गरी बजेट निर्माण गर्ने प्रतिवद्धता जनाएका थिए।