गत मंसिर ४ गते सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमालेको तर्फबाट उम्मेदवार बनेका नेताहरूले निर्वाचन आयोगलाई खर्च विवरण बुझाएका छन्।
आयोगमा बुझाएको खर्च विवरण अनुसार एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले २२ लाख ४५ हजार ८७६ रुपैयाँ खर्च गरेको विवरण बुझाएका छन्।
रूपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका पौडेलले बुझाएको खर्च विवरणमा सबैभन्दा धेरै खर्च छापा एवं विद्युतीय माध्यममा देखाएका छन्।
पौडेलले छापा एवं विद्युतीय माध्यममा ९ लाख २० हजार ८ सय ७६ रुपैयाँ खर्च भएको विवरण बुझाएका छन्।
त्यस्तै, सवारी साधन भाडामा ३ लाख ३५ हजार, प्रचार प्रसार सामग्रीमा २ लाख २५ हजार, ढुवानीमा ७१ हजार, गोष्ठी, अन्तर्क्रिया र कार्यकर्ता परिचालनमा २ लाख ७७ हजार, मनोनयन दाखिलामा २२ हजार, कार्यालय सञ्चालनमा ३ लाख ८५ हजार र विविधमा १० हजार गरी २२ लाख ४५ हजार ८७६ रुपैयाँ खर्च भएको उल्लेख छ।
प्रतिनिधिसभा सदस्यका लागि एमालेले रूपन्देहीका ५ मध्ये ३ वटा निर्वाचन क्षेत्रमा मात्रै उम्मेदवारी दिएको थियो। जसमध्ये आयोगमा बुझाएको विवरण अनुसार क्षेत्र नं. ५ बाट निर्वाचित बासुदेव घिमिरेको सबभन्दा बढी खर्च देखिएको छ।
कुल २७ लाख ८९ हजार ५ सय २० रुपैयाँ खर्च भएको विवरण बुझाएका घिमिरेले सबैभन्दा बढी ५ लाख ७५ हजार रुपैयाँ झण्डा र ब्यानरमा खर्च भएको विवरण देखाएका छन्। तिन महिनासम्म दुइटा गाडी भाडा ५ लाख ४० हजार तथा इन्धनबापत ३ लाख ४७ हजार खर्च भएको उल्लेख छ।
त्यस्तै, २ हजार ३ सय २० जनाले खाना खाएको ४ लाख ६४ हजार र २१ सय १० जनाले खाजा खाएको २ लाख ११ हजार खर्च भएको घिमिरेले बुझाएको विवरणमा उल्लेख छ।
पर्चा छपाइमा २ लाख २५ हजार, साउण्ड सिस्टममा १ लाख ६५ हजार, अनलाइन फोटोग्राफरलाई १ लाख १० हजार, स्टेसनरीमा ९७ हजार र वेभपेज निर्माण गर्दा ५५ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।
क्षेत्र नं. १ बाट निर्वाचित एमालेका सचिव तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले १९ लाख ९७ हजार १ सय ३७ रुपैयाँ खर्च विवरण बुझाएका छन्। त्यस्तै, प्रदेशसभा सदस्यका उम्मेदवारले पनि निर्वाचन खर्च विवरण बुझाएका छन्।
निर्वाचन आयोगमा बुझाएको विवरण अनुसार रूपन्देही क्षेत्र नम्बर १ 'क' बाट प्रदेशसभा सदस्यका उम्मेदवार दधिराम न्यौपानेले २ लाख ६३ हजार ९ सय २० रुपैयाँ खर्च विवरण पेश गरेका छन्।
क्षेत्र नं. २ 'क' बाट निर्वाचित लिला गिरीले २ लाख ४८ हजार ७ सय ५०, २ 'ख' बाट निर्वाचित भोजप्रसाद श्रेष्ठले १३ लाख ८९ हजार ७ सय ४१ र क्षेत्र नं. ३ 'ख' बाट निर्वाचित तुलसीप्रसाद चौधरीले २ लाख ९३ हजार १ सय ७४ रुपैयाँ खर्च भएको विवरण बुझाएका छन्।
त्यसैगरी क्षेत्र नम्बर ४ 'क' बाट उम्मेदवार बनेका सुनिल कुमार गिरीले १ लाख १० हजार, क्षेत्र नंं ५ 'क' बाट निर्वाचित भूमिश्वर ढकालले ४ लाख ९८ हजार ४ सय ७० र क्षेत्र नम्बर ५ 'ख' का उम्मेदवार रामचन्द्र यादवले ५ लाख ५३ हजार निर्वाचनमा खर्च भएको विवरण निर्वाचन आयोगमा बुझाएको एमाले रूपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिए।
आफ्ना उम्मेदवारहरूले निर्वाचन आयोगमा बुझाएको निर्वाचन खर्च विवरणलाई एमालेले मंगलबार सार्वजनिक गरेको हो।