बारा निर्वाचन क्षेत्र नम्बर २ मा पचरौता नगरपालिकाको पनि मत गन्न सुरू भएको छ। यहाँ अब यही नगरपालिकाको मात्र मत गन्न बाँकी छ। यहाँ १३ हजार ५ सय ९९ मत खसेको थियो।
बारा-२ मा कुल ६८ हजार ८८७ मत खसेको थियो। यो निर्वाचन क्षेत्रमा कोल्हवी नगरपालिकाको वडा नम्बर ८, महागढीमाई नगरपालिका, पचरौता नगरपालिका र सुवर्ण, देवताल, करैयामाई गाउँपालिका पर्छन्।
यहाँ सिके राउत नेतृत्वको जनमत पार्टीका शिवचन्द्र कुशवाहा र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवबीच मुख्य प्रतिस्पर्धा छ। नेकपा एमालेबाट पुरूषोत्तम पौडेल, प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट अरूण ज्ञवाली र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल उम्मेदवार छन्। यहाँ सत्ता गठबन्धनले जसपाका यादवलाई सघाएको छ।
पछिल्लो मतपरिणाम अनुसार जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन्।
पछिल्लो मत परिणामअनुसार यादवले २२ हजार ८९५ मत पाएका छन्। त्यस्तै कुशवाहाले २० हजार १५२ मत पाएका छन्।
कुशवाहाभन्दा यादव २ हजार ७४३ मतले अगाडि छन्। यसअघि भने उनी २ हजार ६२९ मतले अगाडि थिए।
त्यस्तै एमालेका पुरूषोत्तम पौडेलले ६ हजार ७१५ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार ६८९ मत पाएका छन्।
आम जनता पार्टीका अरूण ज्ञवालीले २ हजार ६२३ मत पाएका छन्।