बारा निर्वाचन क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणाम अनुसार जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार उपेन्द्र यादवले २३ हजार ९०५ मत पाएका छन्।
उनलाई पछ्याउँदै जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २१ हजार २७ मत पाएका छन्।
यादवले पछिल्लो समय कुशवाहासँगको मतान्तर बढाउँदै लगेका छन्। यसअघि उनीहरूबीचको मतान्तर २ हजार ७४३ थियो। अहिले यादव कुशवाहाभन्दा २ हजार ८७८ मतले अगाडि छन्।
त्यस्तै नेकपा एमालेका पुरूषोत्तम पौडेलले ७ हजार ३८६ पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार ७४३ र आम जनता पार्टीका अरूण ज्ञवालीले २ हजार ६४८ मत पाएका छन्।
बारा निर्वाचन क्षेत्र नम्बर २ मा पचरौता नगरपालिकाको मत गनिँदै छ। यहाँ अब यही नगरपालिकाको मात्र मत गन्न बाँकी हो। यहाँ १३ हजार ५ सय ९९ मत खसेको थियो।
बारा-२ मा कुल ६८ हजार ८८७ मत खसेको थियो। यो निर्वाचन क्षेत्रमा कोल्हवी नगरपालिकाको वडा नम्बर ८, महागढीमाई नगरपालिका, पचरौता नगरपालिका र सुवर्ण, देवताल, करैयामाई गाउँपालिका पर्छन्।