संसदीय सुनवाइ समितिमा राष्ट्रिय सभाबाट तीन जना सांसद चयन भएका छन्।
नेकपा माओवादी केन्द्रका जगप्रसाद शर्मा, नेकपा एमालेका देवेन्द्र दाहाल र नेपाली कांग्रेसका रमेशजंग रायमाझी राष्ट्रिय सभाबाट संसदीय सनुवाइ समितिमा परेका हुन्।
१५ सदस्यीय समितिमा राष्ट्रिय सभाबाट ३ र प्रतिनिधि सभाबाट १२ जना सदस्य चयन हुने गरेको छ।
प्रतिनिधि सभाले पनि आजै समिति गठनका लागि नाम प्रस्ताव गर्दैछ।
प्रतिनिधि सभाबाट कांग्रेस र एमालेको समान ४-४ सदस्य सुनुवाइ समितिमा जानेछन्। त्यस्तै माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादीबाट थप १-१ गरि थप ४ सदस्य समितिमा चयन हुनेछन्।
संसदीय सुनुनुवाइ समितिले सर्वोच्च अदालतका प्रधानन्यायाधीश, न्यायाधीश, विभिन्न देशका लागि प्रस्तावित राजदूत र न्यायपरिषद् सदस्यको सुनुवाइ गर्नेछ।
सुनुवाइ समितिबाट अनुमोदन भएपछि मात्र ती पदमा नियुक्तिको प्रक्रिया अघि बढ्छ। सुनुवाइ समितिको दुई तिहाईले अस्वीकृत गरेको अवस्थामा भने त्यस्ता पदमा सिफारिस भएका व्यक्ति अयोग्य हुनेछन्।