नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले काठमाडौंमा दिनदहाडै महिलाको हत्या भएकाले सुरक्षाको प्रत्याभूति गराउन माग गरेका छन्।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कपनकी ३५ वर्षीया निरा आचार्यको हत्याको घटनाबारे प्रश्न उठाएका हुन्।
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई उनले सुरक्षाको विश्वास दिलाउन माग गरेका हुन्।
गत बिहीबार दिउँसो सरस्वतीनगरस्थित पसलमा अज्ञात व्यक्तिले निरामाथि धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए। तर उनको हत्यारा अझै पक्राउ परेका छैनन् भने प्रहरीले पनि कुनै क्लू फेला पारेको छैन।
यस सम्बन्धमा बुधबार सांसद थापाले मृतकको परिवारसँग भेटेका हुन्।
‘छोरीको मृत्यु भयो सात दिन अगाडि, दाहसंस्कार गर्नका लागि उहाँहरूलाई भनेँ मान्नुभएन। किनकि त्यो मृत्यु थिएन हत्या थियो। दिनदहाडै २२-२३ ठाउँमा छुरी प्रहार गरेर हत्या भयो। सात दिन भयो,’ उनले भने, ‘उहाँहरू प्रहरी कार्यालय धाइरहनुभएको छ, मन्त्रालय गइराख्नुभएको छ तर ठोस जवाफ पाउनसक्नुभएको छैन। संघर्षको कार्यक्रम भइरहेको छ, वरिपरिका मान्छे अत्तालिएका छन्। मैले उहाँहरूलाई अनुसन्धान भइरहेको छ, प्रहरी प्रशासनसँग हामीले कुरा गर्यौं भनें तर मुख्य कुरा के हो भने विश्वास भइरहेको छैन।’
उनले सुरक्षाबारे विश्वास दिलाउन गृहमन्त्री श्रेष्ठसँग आग्रह गरे।
‘आज संयोगले गृहमन्त्रीज्यू संसदमा उपस्थित हुनुहुन्छ। म आग्रह गर्न चाहन्छु- घटनाको सत्यतथ्य बाहिर आओस् र सबभन्दा ठूलो कुरा दिनदहाडै हत्या भएको विषयमा यहाँका नागरिकले विश्वास गर्न नसक्ने अवस्था बन्यो,’ उनले भने, ‘यसको बारेमा विश्वास दिलाउने अवस्था बनाइदिनुस्।’
यस्तै, काठमाडौंका मुख्य सडकहरूमै सिसिटिभी नहुँदा अभियुक्त पक्राउ पर्न नसकेको उनले बताए। यस समस्याको समाधान गर्न संघीय सरकारले काठमाडौं महानगरपालिकासँग सहकार्य गर्नुपर्ने उनी बताउँछन्।
सुरक्षाको दृष्टिकोणले पनि हरेक ठाउँमा सिसिटिभी फुटेज जडान गर्न आफूहरू तयार भएको उनले बताए।
यस्तै सिसिटिभी जडान गरिएको भए अहिलेसम्म अभियुक्त पक्राउ परिसक्ने पनि उनले बताए।
यो पनि: कपनमा दिनदहाडै निराको हत्या, प्रहरीले एक सातासम्म पाएन क्लू