चितवन-२ को उप-निर्वाचनमा पराजित नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले संगठित भएर गुमेको विरासत फर्काउन लाग्ने बताएका छन्।
पार्टी जिल्ला कार्यालयमा उपस्थित नेता तथा कार्यकर्तालाई धन्यवाद दिँदै उनले निर्वाचनको परिणामको विषयमा दोषारोपण नगर्न आग्रह गरे।
‘हामी कसैको विरोध नगरी संगठन बलियो बनाउन लाग्नुपर्छ। सक्किने होइन, अब सच्चिने हो,’ श्रेष्ठले भने, ‘केन्द्र या जिल्ला सच्चिने भन्ने होइन। म सच्चिने, हामी सच्चिने हो। सक्किन हामीलाई मन्जुर छैन, सच्चिनुको विकल्प छैन।’
उनले पराजयले आफ्नो यात्रा कमजोर नभई झन् बलियो भएको बताए।
‘जीतनारायण हार्यो अब आउँदैन होइन, हिजो जीतनारायण हार्यो। अब धेरै पटक आउँछ,’ उनले भने ‘अप्ठ्यारोमा भाग्ने मान्छे कायर हुन्। त्यसैले भाग्ने होइन।’
श्रेष्ठले मत नदिने कार्यकर्तालाई पनि राखेर छलफल गर्ने बताए।
‘सबैको भावना अनुसार सुधारिए अब आउने निर्वाचनमा कांग्रेसलाई एक बनाउन लाग्ने हो,’ उनले भने, ‘कुनै नेताको कुरा काट्न मसँग नआउनुहोला। यसले भोट हाल्यो यसले हालेन भनेर मलाई भन्न कोही नआउनुहोला। हामी समीक्षा गरेर अघि बढ्नुको विकल्प नभएको सन्देश निर्वाचनले दिएको छ।’
श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पराजित भएका हुन्।
लामिछानेले ५४ हजार १७६ र श्रेष्ठले ११ हजार २५१ मत पाएका थिए।