काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले मानिसहरूले आफू सुरक्षित नभएको आभास गर्न थालेको बताएकी छन्।
बिहीबार गृह मन्त्रालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि भएको आक्रमण प्रयास र काठमाडौंको कपनमा वैशाख ७ गते भएको निरा आचार्यको हत्याको विषयलाई लिएर गृहमन्त्रीको ध्यानाकर्षण गराउन पुगेकी उनले नागरिकले असुरक्षित महसुस गरिरहेको बताएकी हुन्।
उनले अहिले मानिसहरू एकअर्कासँग डराउनुपर्ने अवस्था सिर्जना भएको बताएकी हुन्। ८ दिन बितिसक्दासमेत हत्यारा पत्ता नलाग्नुले जनतामा झनै त्रास बढेको बताइन्।
आपराधिक घटनाक्रमलाई रोक्न नेपाल प्रहरीसँग मिलेर काठमाडौं महानगरपालिकाले सिसी क्यामेरा जडान गर्ने प्रक्रिया अघि बढाएको पनि उनले बताइन्।
उनले भनिन्, ‘अनुसन्धान भइरहेको छ। अनुसन्धानबाट छिट्टै नै निचोड आउने प्रतिबद्धता पाएका छौं। कसरी र के भएको हो भन्ने कौतुहलता छ, साथै एकअर्कासँग डराउनुपर्ने त्रासपूर्ण वातावरण बनेको छ। महानगरपालिकाले पनि शान्ति सुरक्षामा प्रहरीसँग नजिकबाट समन्वय गरिरहेका छौं। महानगरले पनि महानगरभित्र प्रहरीसँग हरेक ठाउँमा सिसी क्यामेरा राख्ने जडान गर्ने भनेका छौं। हामीले ८ दिन बितिसक्दा पनि बाहिर नआउनु हामी सबैका लागि हामी यहाँ सुरक्षित छौं कि छैनौं भन्ने प्रश्न आएको छ।’
उपप्रमुख डंगोलले महानगरपालिका शान्ति सुरक्षाका लागि नेपाल प्रहरीसँग समन्वय गरेर अघि बढिरहेको पनि बताइन्।