नेपाली कांग्रेसका नेता शेखर कोइरालाले जनताका कुरा सुन्न देशव्यापी अभियान सुरूवात गर्ने भएका छन्।
शुक्रबार विराटनगर महानगरपालिकाबाट यो अभियानको थालनी हुनेछ।
कोइरालाले जिल्ला, निर्वाचन क्षेत्र र गाउँहरूमा पुगेर जनताका कुरा सुन्ने, कांग्रेसका नेता तथा कार्यकर्तासँग संवाद गर्ने तयारी गरेका छन्।
कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जनताका कुरा सुन्ने अभियान विराटनगरबाट आजदेखि सुरू हुने बताए।
कोइरालाले कांग्रेसको १३ औं महाधिवेशनलगत्तै देशव्यापी अभियान सुरू गरेका थिए। त्यसबेला उनी ७७ जिल्लामै पटक-पटक पुगेर जनता र कांग्रेसका नेता तथा कार्यकर्ताहरूसँग संवाद गरेका थिए।
जिल्लाहरूमा पुगेर जनताका कुरा सुन्ने पहिलेकै अभियानलाई निरन्तरता दिन लागिएको पनि थपलियाले बताए।
कोइरालाले कांग्रेसमा जागरण ल्याउन र रूपान्तरणका लागि भन्दै अभियान चलाइरहेका थिए। विराटनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले जनताका कुरा सुन्न खोजेको बताएका थिए।
वैशाख १० को उपनिर्वाचनले कांग्रेसलाई सच्चिनुपर्ने सन्देश दिएको कोइरालाको भनाइ थियो।