हत्या आरोपमा फरार एमाले सांसद लक्ष्मी महतो कोइरीको बिदा अनुमोदनको विषयमा प्रतिनिधि सभामा सत्तारूढ दलहरूले विरोध जनाएका छन्।
सभामुख देवराज घिमिरेले अन्य सांसदहरूसँगै कोइरी पनि स्वास्थ्य उपचारमा रहेको जानकारी गराउँदै उनको बिदा पनि अनुमोदन भएको घोषणा गरेका थिए।
लगत्तै नेकपा माओवादी केन्द्रका हितराज पाण्डेले उनको बाहेकको नाम मात्र अनुमोदन गर्ने बताएका थिए। नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि टेबल ठोकेर सहमति जनाएका थिए। तर सभामुखले कार्यसूची अघि बढाएका थिए।
लगत्तै सत्तापक्षका सांसदहरूले उभिएर विरोध गरेका थिए।
नेपाली कांग्रेसका प्रमुख रमेश लेखकले फरार रहेको मान्छेलाई बिरामी बिदामा रहेको बताउँदा जग हँसाइ हुने बताए।
'फरार अभियुक्तलाई बिरामी छ भनेर निर्णय गरेर गए हामीलाई के भन्छन् सभामुख महोदय', प्रमुख सचेतक लेखकले भने, 'बिदामा छ भन्ने रेकर्डबाट हट्नुपर्छ।'
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले पनि नयाँ पुस्ताका सांसद अहिले संसदमा आएको उल्लेख गर्दै 'राजनीतिको नाममा लाजनीति' नगर्न आग्रह गरे।
उनले आफू गृहमन्त्री भएकाबेला कोइरी फरार रहेको र भारतमा रहेकोसम्मको सूचना आएको बताए।
नेकपा एमालेका सांसद रघुजी पन्तले 'फरारलाई बिरामी भन्नुपर्छ' भन्ने पक्षमा आफ्नो पार्टी नरहेको उल्लेख गरे। तर उनले गृहमन्त्रीले पक्राउ गर्नुपर्ने बताए।
'सत्तापक्षले संसद अवरूद्ध गर्न मिल्दैन', पन्तले भने, 'पक्राउ गर्न नसक्ने अनि संसदको विषय बनाउने?'
सांसदबीच लफडा भएपछि बैठक केहीबेर स्थगित भएको छ।