नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले एमसिसी परियोजनाले नेपालमा हार्दिकता पाएको बताएका छन्।
अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता संसदबाट पारित गर्न संघर्ष गर्नु परेको पनि उनले बताएका छन्।
सम्झौता कार्यान्वयन सुरू भइसकेको भन्दै उनले परियोजनाबाट नेपालमा दश हजार प्रत्यक्ष रोजगारी सिर्जना भएका बताउँदै उनले यस्तै अप्रत्यक्ष रोजगारीको पनि सिर्जना गरेको बताए।
‘एमसिसी संसदबाट पारित गर्न संघर्ष गर्नुपरेको थियो, अहिले हार्दिकता पाएको छ,’ उनले भने, ‘अहिले एमसिसी अन्तर्गत तीन सय मिलियन बराबरको बोलपत्र आह्वान भइसकेको छ, दश हजार प्रत्यक्ष र त्यस्तै हजारौं अप्रत्यक्ष रोजगारी सिर्जना गरेको छ।’
उक्त परियोजना नेपाल सरकारबाट छनोट भएका योजना भएको उनले बताए।
सम्झौता लागि गर्न सरकारले मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) गठन गरेको र परियोजना कार्यान्वयनमा मुख्य जिम्मेवार सोही निकाय रहेको उनले बताए।
पोखरामा पत्रकारहरूसँग कुरा गर्दै राजदूत थम्पसनले परियोजना लागू गर्न जग्गा प्राप्ति लगायत कानुनी प्रक्रिया अघि बढिरहेको बताए।
पोखरा भ्रमणका क्रममा राजदूत थम्पसनले तिब्बती शरणार्थी शिविर पुगेर शरणार्थीका अवस्थाबारे जानकारी लिएका थिए।
उनले पोखराका उद्योगी, व्यवसायी, पोखरा महानगरका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लगायतसँग भेटवार्ता गरेका थिए।
कोभिड–१९ महामारीपश्चात् पोखरामा गुमेको रोजगारी र सीप पुनर्स्थापना गर्न गाह्रो भएको पाएको उनले बताए।
सरकारले नेपाल घुम्न आउने पर्यटकलाई पदयात्रा जाँदा अनिवार्य गाइड लैजानुपर्ने निर्णय गरेपछि अमेरिकी पर्यटकलाई पनि अनिवार्य गाइड लैजान सूचना दिएको उनले बताए।
अर्को प्रसंगमा राजदूत थम्पसनले अमेरिकी सहयोगबाट सञ्चालित आयोजना लक्ष्य र उद्धेश्यभन्दा फरक हुन नदिन आफूहरू गम्भीर रहेको बताए।
नेपालमा प्राकृतिक संरक्षणका क्षेत्रमा प्राप्त अमेरिकी सहयोगबाटै प्रकृतिको विनाश भएको भन्दै सोधिएको प्रश्नमा उनले उक्त जवाफ दिएका हुन्।
‘वातावरण विनाशमा हामी गम्भीर छौं, यस्तो भएको पाइए कार्यक्रम परिवर्तन गर्छौ, कि कसरी कारबाही गर्ने भनेर हेर्छौं,’ उनले भने।