नेपाल सरकारका सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले जेष्ठ नागरिकले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता कटौती नभएको बताएकी छन्।
दाङको राप्ती गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सरकारले जेष्ठ नागरिकले पाउने भत्ता नरोकेको र उक्त प्रचार गलत भएको पनि बताइन्।
‘पछिल्लो समय ज्येष्ठ नागरिकले पाउँदै आएको सामाजिक सुरक्षा भक्ता कटौती गर्दैछ भनेर पनि प्रचार गरिएको छ यो सरासर गलत हो,’ उनले भनिन्, ‘यो बारेमा अहिलेको सरकारले कुनै निर्णय लिएको छैन।’
यसबारे सरकारलाई बदनाम गराउन हल्ला फिजाइएको पनि उनले बताइन्।
मन्त्री शर्माले सरकारले गरेका सकारात्मक कामलाई पार्टी कार्यकर्ताले जनता सामू लैजान र जनताका समस्या सरकारसम्म ल्याउन आग्रह गरिन्।
सरकार खेतीको समय अगावै सबै किसानको पहुँचमा मलखाद पुर्याउन प्रतिबद्ध रहेको पनि उनले बताइन्।
उनले मिटरब्याजी पीडितका समस्या सधैँका लागि अन्त्य गर्न कानुन निर्माण गरी हल गर्ने प्रक्रियामा सरकार रहेको जानकारी दिइन्।