नेकपा (एमाले) ले फागुन ५ गतेदेखि ‘मिसन ग्रासरूट’ अभियानको सुरू गर्यो। दुई महिने अभियानको मुख्य लक्ष्य पार्टीको संगठनात्मक शक्तिलाई आधारभूत तहसम्म विस्तार गर्ने त छँदै थियो, मंसिरमा सकिएको प्रतिनिधि र प्रदेश सभामा अन्यत्र गएको मत फर्काउने र आउँदो निर्वाचनमा पहिलो शक्ति बन्ने ध्येय पनि थियो।
त्यसो त मुलुकलाई मध्यावधिमा लैजाने एमाले ध्याउन्न नभएको पनि होइन।
तर, उपनिर्वाचनमा तीन क्षेत्रमा तेस्रो स्थानमा खुम्चिएपछि र ११ महिनाअघि अस्तित्वमा आएको राष्ट्रिय स्वतन्त्र पार्टीले अत्यधिक मतान्तरले पाखा लगाउने परिस्थिति बनेपछि एमाले थप सशंकित बनेको छ।
यही अवस्थामा एमालेले वैशाख २८ देखि ३० गतेसम्म झापामा केन्द्रीय कमिटीको पाँचौं बैठक गर्दैछ।
एमालेको विधानअनुसार केन्द्रीय कमिटीको बैठक छ-छ महिनामा बस्नुपर्छ। एमालेको पछिल्लो केन्द्रीय कमिटी बैठक गत भदौमा बसेको थियो। तीन महिना ढिलोगरी डाकिएको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा बस्दैछ।
फरक भूगोलसँग चिनापर्ची
एमालेले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक उपत्यकाबाहिर आयोजना गर्थ्यो। तर, केन्द्रीय कमिटी बैठक काठमाडौं उपत्यका छाडेर अन्यत्र लगेको थिएन।
यसपटक फरक भूगोल देशका भिन्न-भिन्न विशेषतासँग चिनजान होस् भनेर उपत्यकाबाहिर आयोजना गरिएको पार्टी उपाध्यक्ष विष्णु पौडेल बताउँछन्।
‘कुनै राजनीतिक सन्देश दिनभन्दा पनि पार्टीका नेताहरूलाई फरक-फरक विशेषतासँग चिनजान होस्, भूगोलबारे ज्ञात होस् भनेर झापामा आयोजना गर्न लागेका हौं,’ उनले सेतोपाटीसँग भने।
‘एमाले सरकार ढाल्ने खेलमा लाग्दैन’
झापा बैठक मूलतः ‘मिसन ग्रासरूट’को समीक्षामा केन्द्रित रहने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङ बताउँछन्।
‘मिसन ग्रासरूट’ समीक्षाको आधारमा आगामी रणनीति तय गरिने पनि उनले बताए।
‘नेकपा एमालेको अबको कार्यदिशा भनेको सशक्त प्रतिपक्ष हो। नागरिकले पनि एमालेको त्यही भूमिका अपेक्षा गरेका छन्। हामी सरकार गिराउने र बनाउने खेलमा छैनौं भनेर सन्देश दिन पनि यो केन्द्रीय कमिटीको बैठक महत्त्वपूर्ण छ। त्यसका अतिरिक्त भ्रष्टाचार र सरकारको अकर्मण्यताविरूद्ध नागरिकलाई सुसूचित गर्न बैठक उपयोगी हुने विश्वास गरेका छौं,’ उनले भने।
अहिले बैठक बस्ने दिन तय भए पनि बैठकको कार्यसूची भने तय हुन बाँकी रहेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए।
बैठकले फागुनदेखि वैशाखसम्म चलेको ‘मिसन ग्रासरूट’को समीक्षा गर्दै आगामी बाटो तय गर्ने पनि उनले बताए।
‘मिसन ग्रासरूट अभियानअन्तर्गत अधिकांश प्रदेशको समीक्षा बैठक पनि भइसकेका छन्। मंगलबार वाग्मती प्रदेशको समीक्षा बैठक बस्दै छ,’ उनले सेतोपाटीसँग भने,‘बैठकले मिसन ग्रासरूटको समग्र उपलब्धीबारे छलफल गर्नेछ। उपनिर्वाचनको पनि समीक्षा गर्ने छ। बाँकी कार्यसूची भने केही दिनमा तय होला।’
झापामा केन्द्रीय कमिटी बैठक राख्नुका पछाडि कुनै राजनीतिक कारण नरहेको रिजाल बताउँछन्।
‘हेडक्वार्टर’भन्दा बाहिर बैठक राख्ने र पार्टी पंक्तिलाई चलायमान बनाउने अभिप्रायले झापाबाट सुरूवात गरिएको उनको भनाइ छ।
पाँचौं केन्द्रीय कमिटी बैठकको दुई साताअघि केपी ओली पूर्वी नेपालको दौडाहामा छन्। कोशी प्रदेशको नामकरणलाई लिएर चर्किइरहेको प्रदर्शनकैबीच उनी झापा, इलाम, पाँचथर, तेह्रथुम पुगेर विभिन्न गतिविधिमा सरिक भइरहेका छन्।
कोशी प्रदेशमा एमाले ठूलो दल छ । र, प्रदेश सरकार पनि उसकै नेतृत्वमा छ।
दुई कार्यकाल प्रधानमन्त्री हुँदा पार्टी अध्यक्ष ओलीले झापामा विकास केन्द्रित गरेका थिए। दमकको ढुकुरपानीमा अढाइ अर्ब लागतमा भ्यु टावर निर्माणाधीन छ भने अन्य परियोजना पनि अगाडि बढाइरहेका छन्।
एमालेको सांगठनिक पकड विस्तार होस् र पार्टीगत चहलपहल बढोस् भनेर झापामा केन्द्रीय कमिटीको बैठक राखिएको एमालेका नेताहरू बताउँछन्।
नेकपा एमालेको केन्द्रीय कमिटीमा ३०१ जना छन् भने प्रदेश कमिटी अध्यक्षहरू पदेन सदस्य रहने व्यवस्था छ।