राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राजतन्त्र पक्षधरप्रति दिएका अभिव्यक्ति फिर्ता लिन आग्रह गरेका छन्।
राजसंस्था पक्षधरको आस्था र भावनामा चोट पुग्ने गरी एमाले अध्यक्ष ओलीले अभिव्यक्ति दिएकोले फिर्ता लिनुपर्ने प्रवक्ता श्रेष्ठ बताउँछन्।
ओलीले अखिल नेपाल किसान महासंघको स्थापना दिवसमा आयोजित कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै स्वार्थी र अज्ञानीले राजतन्त्र मान्ने गरेको टिप्पणी गरेका थिए।
‘राजसंस्था पक्षधर ठूलो पंक्तिको आस्था र भावनामा चोट पुग्ने गरि एमाले अध्यक्ष केपी ओलीको अभिव्यक्ति आपत्तिजनक र दुर्भाग्यपूर्ण छ। राजसंस्था मान्नेहरू फटाहा, मुर्ख र अज्ञानी हुन्छन् भन्ने उहाँको अभिव्यक्ति असहिष्णु र विद्वेषपूर्ण छन्,’ राप्रपा प्रवक्ता श्रेष्ठले भने, ‘आफ्नो अभिव्यक्ति फिर्ता लिन अनुरोध गरिन्छ।’
उनले थप प्रश्न गर्दै भनेका छन्, ‘०६३ सालसम्म के ओलीजीहरू पनि फटाहा, मुर्ख र अज्ञानी हुनुहुन्थ्यो?’
यो पनि: ओलीको आक्रोश- स्वार्थी, अज्ञानी र मुर्खले राजतन्त्र मान्छन्