नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले महाकाली करिडोरको ट्र्याक खुलाउने कार्यले अब गति लिने बताएका छन्।
विगतमा सरकारको उदासिनताका कारण करिडोर निर्माणमा ढिलाइ भएको उनले बताए।
‘अब डेढ वर्षभित्र करिडोरको ट्र्याक खुलिसक्छ,’ उनले भने।
करिडोरको शुन्यविन्दु कञ्चनपुरको ब्रह्मदेव क्षेत्रको खल्लामसेट्टीमा आइतबार निरीक्षणमा पुगेका लेखकले रूख कटान अनुमति नहुँदा विगतमा योजनाको काम प्रभावित बनेको बताएका थिए।
अहिलेको सरकारले कञ्चनपुरदेखि दार्चुलासम्ममै करिडोरको ट्र्याक खुलाउन रुख कटानजस्ता कामको अनुमति दिइसकेको उनको भनाइ थियो।
‘अब कञ्चनपुरबाट आउँदो दशैंमा डडेल्धुराको जोगबुढा क्षेत्रमा यही ट्र्याकबाट पुग्ने छौं,’ लेखकले भने।
करिडोरको शुन्य बिन्दुदेखि १५ किलोमिटर ट्र्याक खुलाउने काम ठेक्का सम्झौता भएको डेढ वर्ष भइसकेको छ।
रूख कटानको अनुमति नहुँदा यो काम अलपत्र थियो।