भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले आगामी आर्थिक वर्षमा भौतिक मन्त्रालयको बजेट सबैभन्दा धेरै कटौती भएको बताएका छन्।
आइतबार काठमाडौंमा पेशागत महासंघ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्षमा मन्त्रालयको बजेट ५४ अर्ब कटौती हुने बताएका हुन्।
चालु आर्थिक वर्षमा १६३ अर्ब बजेट रहेको भए पनि आगामी आर्थिक वर्षका लागि ११३ अर्ब बजेटको सिलिङ दिइएको उनले जानकारी दिए। आगामी आर्थिक वर्षको बजेट गरिबको लागि खानेकुरा जस्तो बनेको उनले बताए। राजश्व संकलन कम भइरहेको र अर्थतन्त्रका सूचकांकहरू पनि खराब रहेको उनको भनाइ छ।
‘हामी बजेट निर्माणको चटारोमा छौं। अहिले बजेट बनाउँदा यता ताने उता नमिल्ने, उता ताने यता नमिल्ने भएको छ। गरिबी जस्तो भएको छ। बिहान खाँदा साँझ नपुग्ने साँझ खाँदा बिहान नपुग्ने जस्तो भएको छ। ओभरल आर्थिक संकट त छँदैछ, राजश्व संकलन कमजोर छ,’ मन्त्री ज्वालाले भने,‘अर्थतन्त्रमा खराब सूचकांकहरु छन्। त्यसको मारमा बजेट परेको छ। बजेट मारमा पर्नु भनेको हाम्रा प्रोजेक्टहरू, योजना, कार्यक्रम मारमा पर्नु हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय यस पटक सबैभन्दा धेरै कटौती गरिएको छ। १ सय ६७ अर्ब अहिलेको आर्थिक वर्षमा थियो भने आगामी आर्थिक वर्षमा ११३ अर्ब मात्रै बजेट सिलिङ दिइएको छ। त्यसैले अत्यन्त कठिन छ बजेट बनाउन। धेरै मागहरु सम्बोधन गर्न कठिन छ।’
मन्त्री ज्वालाले मन्त्रालयले आगामी आर्थिक वर्षमा आवश्यक काम गर्न नसक्ने पनि बताए।