लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन रातिदेखि अन्त्य भएको छ।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले मंगलबार राति १२ बजे अधिवेशन अन्त्यको सूचना प्रदेशसभालाई पठाएका हुन्।
मंगलबार नै मुख्यमन्त्री चौधरीले विश्वासको मत लिएका थिए। त्यसको केही बेरमै उनले हिउँदे अधिवेशन अन्त्यका सिफारिस गरेका थिए।
अब तुरुन्तै बजेट अधिवेशनको तयारी गर्नुपर्ने भएकाले हिउँदे अधिवेशन अन्त्य गर्नु परेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
त्यसपछि प्रदेश प्रमुखको कार्यालयका सचिव प्रल्हाद पोखरेलले नेपालको संविधानको धार १८३ को उपधारा २ बमोजिम मंगलबार राति १२ बजेदेखि प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको सूचना पठाएका थिए।
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिबेशन उतारचढावमय रह्यो।
प्रदेश सभाको पहिलो बैठक पुस १८ गते बसेको थियो। पाँच महिनामा हिउँदे अधिवेशनमा १० वटा बैठक बसे भने दुई विधेयक पेस भएका छन।
यो बीचमा नेकपा एमालेका लीला गिरी नेतृत्वको सरकार विघटन भइ हाल नेपाली काँग्रेसका डिल्लीबहादुर चौधरी नेतृत्वको सरकार गठन भएको छ।
गिरीले पहिलो पटक विश्वासको मत प्राप्त गरेपनि दोस्रोपटक अल्पमतमा पर्दै सरकारबाट बहिर्गमित हुनुपरेको थियो।
नयाँ गठबन्धन बनेसँगै सत्तासमिकरण फेरिएपछि मुख्यमन्त्री बनेका चौधरीले गत मंगलबार नै विश्वासको मत प्राप्त गरिसकेका छन्।
विश्वासको मत पाएपनि मन्त्रालय भागबन्डामा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। मन्त्रालयम भागबन्डामा प्रदेशमा सहमति जुट्न नसकेपछ मुख्यमन्त्री चौधरी केन्द्रको सहयोग खोज्दै काठमाडौं पुगेका छन्।
लुम्बिनीमा रहेका दश दल मध्य मुख्यमन्त्री चौधरीलाई प्रमुख प्रतिपक्षी एमाले र राप्रपा बाहेक अन्य सबै दलहरुको समर्थन छ।
८ दल र एक स्वतन्त्र सांसदको सर्मथन सरकारलाई रहेकाले मन्त्रीको आकांक्षी धेरै भएका कारण भागबन्डा मिलाउन सकस भएपछि मुख्यमन्त्री चौधरी केन्द्रका नेता गुहार्न मंगलबार नै काठमाडौं पुगेका थिए।
नयाँ आर्थिक बर्षका लागि बजेट ल्याउनु पर्ने समय निकट आउन लागेको हुँदा लुम्बिनीका मुख्यमन्त्री चौधरीलाई छिटो सरकारलाई पूर्णता दिएर समयमै बजेट ल्याउनु पर्ने दबाबमा छन्।
हाल उनको मन्त्रीमण्डलमा दाङको निर्वाचन क्षेत्र नं. ३(२) मा माओवादी केन्द्रबाट निर्वाचित धनबहादुर मास्की, रूपन्देहीको ३(१) बाट निर्वाचित लोसपाका सन्तोषकुमार पाण्डे र बर्दियाको २(२) बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी मन्त्री छन्।
मन्त्री बनाइए पनि उनीहरूको मन्त्रालय भने अहिलेसम्म तोकिएको छैन।