नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कर्णाली प्रदेशमा सरकार गठन गर्दा नेकपा माओवादीले आफ्ना सांसदलाई बेवास्ता गरेको दुखेसो पोखेका छन्।
बुधबार बिहान सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा उनले कर्णालीमा माओवादी केन्द्रको घमण्डका कारण आफ्ना दलका नेताहरु दुखी भएको बताएका हुन्।
‘कर्णालीमा हाम्रो पार्टीलाइ पुरै बेवास्ता गरिएको छ, यो राम्रो होइन्,’ पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले भने, ‘सरकारमा एकलौटी गर्न खोजिएको छ, यहाँ माओवादीको दम्भ र घमण्डले हाम्रो साथीहरु दुखी हुनुहुन्छ।’
नेपालले केन्द्रमा गठबन्धन टिकाउने कुरा भइरहँदा प्रदेशमा भने आफूहरुलाई बाइपास गरेर पीडा दिएको बताए।
नेपालले गठबन्धनले जनताको पक्षमा रहेर काम गर्नुपर्ने बताए।
‘जनतालाई खुसी बनाउनुपर्छ भन्ने मेरा चाहना हो, समाज समृद्ध भएपछि मात्र सबै प्रसन्न हुन्छन्,’ उनले भने, ‘हाम्रो पार्टी नयाँ अभियानका साथ अघि बढीरहेको छ, भ्रष्टाचारलगायत सबै खालका विकृतिबाट टाढा रहने र अरू भन्दा भिन्न देखिने हाम्रो प्रयास हो।’
उनले देशमा भएको सिमित साधनस्रोतको अधिकतम प्रयोग गरेर विकास निर्माणका काममा लाग्नुपर्नेमा जोड दिए। आफू प्रधानमन्त्री हुँदा राज्यसत्ताको कुनै दुरुपयोग नगरी देश विकासका लागि महत्वपूर्ण भूमिका खेलेको पनि दाबी गरे।
अध्यक्ष नेपालले सुरुमा सरकार गठन गर्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सत्ताको भुक्तभोगी भएर ओलीको शरणमा परेको टिप्पणी समेत गरे।