नेपाली कांग्रेसका नेता एवं सांसद विमलेन्द्र निधिले राष्ट्रपति कार्यालयमा रहेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले तत्काल प्रमाणीकरण गर्नुपर्ने बताएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सो विधेयक राष्ट्रपति पौडेललाई प्रमाणीकरण गर्नका लागि संविधान र कानूनी रूपमा कुनै पनि बाधा अड्चन नभएको दाबी समेत गरे।
उनले संघीय संसदले दुई दुई पटक पारित गरेर पठाएको सो विधेयक प्रमाणीकरणका लागि आवश्यक सक्रियता देखाउन सरकारलाई पनि सुझाव दिए।
नेता निधिले भने, ‘आजको समाचार पत्रहरूमा सम्माननीय राष्ट्रपतिजीका, सम्माननीय प्रधानमन्त्री र मन्त्रीजीहरूको बीचमा नागरिकता विधेयक प्रमाणीकरण गर्ने विषयमा छलफल भएको समाचारहरू सुन्यौं। यो नागरिकता विधेयक प्रमाणीकरण गर्नका लागि कानूनी तथा संवैधानिक आधारहरू खोज्नु भएको छ अरे भनेर सुनेको छु।’
उनले अघि भने, ‘म सभामुखमार्फत् सरकारको के ध्यानाकर्षण गराउन चाहन्छु भने, यो संसदमा प्रतिपक्षका सांसदहरूले पनि बोल्नु भएको छ। राष्ट्रपतिको सल्लाहकार भनेको प्रधानमन्त्री र मन्त्रिपरिषद् नै हुन्छ। अब त्यो संसदबाट दुई दुई पटक पारित भएर गएको विधेयक संसदमा फिर्ता आउनु हुँदैन। र, त्यहीँबाट प्रमाणित नै हुनुपर्दछ। मन्त्रिपरिषदले नै निर्णय गरेर राष्ट्रपतिजीलाई सल्लाह गरेर कुनै बाधा छ भने त्यो पनि फुकाउनु परेन। यो संविधानसम्मत कुरा नै हो। त्यसकारण नागरिकता विधेयक तत्काल प्रमाणित गर्न लगाउने कुरामा सरकार चाहिँ सम्पूर्ण रूपमा सक्रिय भइदिनु पर्यो भन्ने कुरा राख्न चाहन्छु।’
नेता निधिले संघीय संसदले दुई दुई पटक पारित गरेर पठाएको सो विधेयक फेरी संसदमा आउन नहुने समेत बताए।