प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीय संसद्को हिउँदे अधिवेशन नयाँ भवनबाटै सञ्चालन गर्ने गरी शीघ्र सम्पन्न गर्न निर्देशन दिएका छन्।
सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद् भवनको आज अवलोकन गर्दै प्रधानमन्त्रीले पछिल्ला दिनमा भवन निर्माणले गति लिएकामा प्रशन्नता व्यक्त गरे। उनले कामलाई थप गति दिएर हिउँदे अधिवेशन अगावै सम्पन्न हुने वातावरण बनाउन आग्रह गरे।
मुलुकको सर्वोच्च जनप्रतिनिधिमूलक थलोका रुपमा रहेको सङ्घीय संसद्को काम कारबाही भाडाको भवनमा सञ्चालन गर्नुपर्दा नमिठो अनुभव भइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले आफ्नो नेतृत्वको नयाँ सरकार गठन भएपछि कामले गति लिएकामा संलग्न सबैलाई आभार व्यक्त गरे।
उनले कामको गति थप कसरी बढाउन सकिन्छ भन्नेबारेमा मन्त्री, सचिवलगायतका अधिकारी र निर्माण व्यवसायीलाई आवश्यक परामर्श गर्नसमेत निर्देशन दिए।
प्रधानमन्त्रीले सो अवसरमा निर्माणाधीन १२ वटै भवनको अवलोकन निरीक्षण गरेका थिए। आफूले यसअघि नै नेपाल औषधि लिमिटेड रहेको स्थानमा संसद् भवन बनाउने उद्देश्यले अवलोकन गरेकोसमेत स्मरण गरे। प्रधानमन्त्रीले हाल निर्माणाधीन भवन सुविधा सम्पन्न रहेको र यसले संसद्का काम कारबाहीलाई थप गति दिन बल पुग्नेसमेत बताए।
भवनको संरचना निर्माण भइसकेकाले अब फिनिसिड र छाना हाल्ने काम बाँकी छ । उनले ती कामलाई युद्धस्तरमा अगाडि बढाउन आग्रह गरे ।