अहिले देश अत्यन्तै अप्ठ्यारो र कताकता अराजकतातिर गइरहेको छ कि भन्ने मलाई लागेको छ। भ्रष्टाचारले देशलाई गाँजेको छ भनेर हामी सबैले भनिराखेका छौं।
अर्को दण्डहीनता पनि हो।
मान्छे मारिन्छन्, त्यसलाई राजनीतिक 'लेप' लगाउने गरिन्छ। जिल्ला, उच्च अदालत र सर्वोच्च अदालतले गरेका निर्णयमा पनि मानिस छुटिराखेका हुन्छन्। यी कुराहरूलाई हामीले ठिक राख्न सकेनौं भने देश अराजकतातिर जान्छ र गइराखेको आभास नेपालीहरूले गरिरहेका छन्।
भ्रष्टाचारले देशलाई हरेक क्षेत्रमा गाँजेको छ।
कसरी गाँजेको छ भने- एउटा कुनै काण्ड आउँछ, त्यसलाई अघि बढाउँदा बढाउँदै अर्को आउँछ र पहिलेको साइड लाग्छ। अहिले हेर्नुस्- भुटानी शरणार्थीबाट सुरू भयो, अघि बढ्दै थियो, साइडलाइन लागेको छ।
त्यसपछि आयो- ललिता निवास जग्गा प्रकरण।
त्यो पनि अघि बढ्दै गयो, ठ्याक्क रोकिएको छ। किन रोकिन्छ भने माथि कोही न कोही मानिस परिरहेको छ।
मन्त्रिपरिषद लैजान टिप्पणी उठाएका भरमा कर्मचारी जेल गएका छन्। एक सचिव (कृष्णबहादुर राउत) भर्खर रिहा हुनुभएको छ। तर जसले मन्त्रिपरिषदबाट निर्णय गर्यो उनीहरूलाई छानबिनले छोएको छैन।
यसपछि सुन काण्ड आयो।
यो पनि सामसुम हुन्छ। किनभने माथिल्लो कोही न कोही संलग्न हुन्छ। सुन काण्डमा नेपालमा मानिसको संलग्नता ठूलो भने छैन, नेपालीहरू बिचौलिया को पनि बिचौलिया भए।
भारतमा १३ सय टन सुन खपत हुन्छ। तर भारतले ८ सयदेखि ९ सय टन मात्रै आयात गर्ने रहेछ। चार/पाँच सय टन सुन त नेपाल, बर्मा हुँदै मणिपुर वा अन्य कतैबाट भारत पुग्दो होला।
सुन प्रकरणमा नेपालका नेतृत्वहरू कहीँ न कहीँ संलग्न भइरहेका हुन्छन्। यो अहिलेको घटना मात्र होइन। नेपालबाट सुन गइराखेको होला नि! अहिले बरामद गरेको १०० किलो हो। यसबीचमा पनि कति गइसक्यो होला, सोचौं हामी।
सुन काण्डमा नेपालीहरू को-को संलग्न छन् त्यो महत्वपूर्णभन्दा पनि सुनले गर्दा नेपालको सुरक्षा नाजुक छ भन्ने देखाइरहेको छ। यो कुरा दुनियाँले हेरिराखेका हुन्छन्।
हेर्नुहोला, यो काण्ड चल्दाचल्दै फेरि अर्को काण्ड निस्कन्छ। कुनै पनि प्रकरणलाई हामीले तार्किक निष्कर्षमा पुर्याएका छैनौं, किन पुग्दैन भन्दा माथिका मानिस संलग्न भएर हो, अरू म कुनै कारण देख्दिनँ।
यसलाई खोज पत्रकारहरूले राम्रोसँग हेर्नुपर्यो।
रोचक त के छ भने- सुन काण्ड सिआइबीले हेरिराखेको छैन, राजश्व अनुसन्धान मात्रै संलग्न भइरहेको छ। उसले कति गर्न सक्छ, सक्दैन।
पहिले राजश्व अनुसन्धान विभाग अर्थ मन्त्रालय मातहत हुन्थ्यो। केपी ओली प्रधानमन्त्री भएका बेला राजश्व अनुसन्धान प्रधानमन्त्री कार्यालय मातहत ल्याउनुभयो।
शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा हामीले पटक-पटक राजश्व अनुसन्धान अर्थमै फर्काउनुपर्छ भनेर बोलेका हौं।
देउवाले पनि यो विभाग प्रधानमन्त्री कार्यालय मातहतमै रहन दिनुभयो। हामीले त यो गलत हुन्छ भनेका थियौं।
अब अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि यो विभाग अर्थमा फर्काउनुभएन। तपाईंहरू (पत्रकारहरू) यसबारे गहिरोसँग सोच्नुस्, के हुँदैछ भन्ने कुरा।
त्यतिमात्र होइन, राजश्व अनुसन्धानको महानिर्देशक सुन काण्ड हुनुभन्दा एक साताअघि प्रधानमन्त्रीको स्वकीय सचिव हुनुहुन्थ्यो। हामी कहाँ पुग्न खोज्दैछौं?
अर्कोतिर रोचक के छ भने- प्रमुख प्रतिपक्षी नेकपा एमाले संसद अबरूद्ध गरेर बसिराखेको छ। संसदमा जति बोल्नु नि! यही सुनकाण्डकै कुरा होला। आफ्ना कुरा राख्नु, नयाँ कुरा छ भने बाहिर ल्याउनु। सत्तापक्षका साथीहरूले पनि बोल्छन्- पक्ष विपक्षबाट त संसदमा कुराहरू आइहाल्छन्।
संसदलाई अबरूद्ध गर्यो भने राष्ट्रका लागि कति घाटा हुन्छ? यो कुरा विपक्षी दलले बुझ्न जरूरी छ। नेपाली कांग्रेस अहिले सत्तापक्षमा छ तर यो कुरा हामीले पनि बुझ्नुपर्छ।
एउटा कुरा मलाई बडो रमाइलो लागेको छ- एउटा प्रकरण आउँछ, अलिकति अघि बढ्दै जान्छ। अनि शीर्ष तीन जना नेता (पुष्पकमल दाहाल, शेरबहादुर देउवा र केपी शर्मा ओली) एक ठाउँमा बसिहाल्नुहुन्छ। के छलफल हुन्छ थाहा छैन मलाई, हिजोअस्ती पनि उहाँहरूबीच छलफल भएको थियो।
यो कुरा तपाईंहरूले उजागर गर्न सक्नुभयो भने नेपाललाई सही दिशातर्फ लैजान सकिन्छ।
नेपालको भविष्य छैन भनेर म भन्दिनँ, खाली भ्रष्टाचारको अन्त्य, सुशासन, दण्डहिनताको अन्त्य हामीहरूले गर्न सक्यौं भने नेपालको भविष्य उज्ज्वल छ, यसमा कुनै शंका छैन। यी सब कुराहरू गर्न एउटा मात्रै लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस छ।
कांग्रेस अलमलमा परेको हो कि भन्ने साथीहरूले पनि कुरा राख्नुभएको छ।
हालैको केन्द्रीय समितिका निर्णयबारे पनि बोल्नुभयो, लाइभ गर्दा राम्रो भयो कि भएन भन्ने पनि लेखाजोखा भविष्यले गर्ला। लाइभ गर्दा मलाई असजिलो लाग्यो।
यसचोटी केन्द्रीय समिति बैठक आरोप-प्रत्यारोपमै सकियो, गम्भीर छलफल त्यहाँ भएन। लाइभ भएर हो कि! कतिलाई भोलिको नेता हुन बोल्छु भन्ने पनि लाग्यो होला, म जस्तोलाई असजिलो पनि भयो।
मैले केन्द्रीय समितिमा १५ बुँदा राखेको छु।
म अनुरोध गर्दछु कि त्यो एक-एक अक्षर तपाईंहरूले पढिदिनुस्। म प्रतिक्रिया र लेखहरू हेर्दैछु, पढ्दैछु। उहाँहरूले राम्ररी पढेर लेखेकोजस्तो मलाई लागेको छैन, त्यो पढेर आलोचनात्मक लेखिदिनुस्।
मैले के देखिराखेको छु भने- नेपाली कांग्रेसको आन्तरिक द्वन्द्व र समूहभित्रका द्वन्द्व तपाईंहरूले आफैँ बनाउने, सोच्ने र लेख्ने गरिरहनुभएको छ। लाग्छ कि कांग्रेसको महाधिवेशन आइसक्यो। तर अधिवेशन आउन कम्तीमा पनि साढे २ वर्ष बाँकी छ।
शेखर कोइराला त सभापतिसँग मिल्यो भनेर तपाईंहरूले लेखिरहनुभएको छ।
म तपाईंहरूलाई सोध्दैछु- कांग्रेस सभापति प्रेस युनियनको पनि हो कि होइन? शुभेच्छुक हिसाबले। तपाईंहरूलाई सभापतिले बोलाउनुभयो भने जाने कि नजाने? तपाईंहरू जानुभएन भने युनियन शुभेच्छुक संस्था होइन भनेर हामीले भन्नुपर्छ।
मेरो बानी नै छैन- कसैले नबोलाईकन जाने। मिल्ने भनेको केमा मिल्ने? एजेन्डामा हो।
मलाई मेरो परिवारले केही संस्कार दिएको छ- गाली नगर भनेको छ। गाली सुन, खाऊ, पचाऊ तर गाली नगर भनेको छ। चित्त नबुझे नबोल भनेर भन्नुभएको छ। यो कुरालाई पनि हामीले लिने कि नलिने, आफ्नो स्वभाव र सोचाइ हुन्छ।
कतिले मलाई भन्नुभयो, तपाईंले महामन्त्री (गगन थापा) को रक्षा गर्नुभएन भनेर। केही केन्द्रीय सदस्य, संघीय र प्रदेशका सांसदले भन्नुभएको छ। मैले भने केन्द्रीय समितिमा कसैलाई पनि प्रतिरक्षा गर्न म आएको होइन।
सुशील कोइराला सभापति हुँदा शेरबहादुर देउवा र रामचन्द्र पौडेलका अघि मैले भनेको थिएँ, सुशील'दा म तपाईंकै प्यानलबाट जितेको, तर आज म तपाईंले भनेको मान्दिनँ।
उहाँले भ्रातृ संस्थाहरूलाई विघटन गरिदिनुभएको थियो। त्यो मैले स्वीकार गरिनँ। केन्द्रीय समितिमा पनि त्यसबेला कुरा चलेको थियो- एकै समूहमा भएर पनि यस्तो कुरा गर्ने भनेर। केन्द्रीय समितिमा आफ्नो बुद्धि विवेक लगाउने हो, ग्रुपले जे भन्छ त्यो भन्ने भए त एक जनाले बोले भइहाल्यो।
हामीहरूका बीच (शेखर-गगन थापा) केही मतभिन्नता छैन, एजेन्डामा मतभिन्नता छैन। शेरबहादुर देउवासँग केमा मिल्यो? मैले आजसम्म पनि बुझ्न सकेको छैन। तपाईंहरू (पत्रकार) लेखिरहनुभएको छ- यो देउवासँग मिल्यो भनेर, किन लेख्या मैले बुझेको छैन।
पहिले शेखर सभापति देउवालाई भेट्न जाँदैनथ्यो भन्ने पनि लेख्नुभएको छ। पहिले शेरबहादुरजीले बोलाउनु हुँदैनथ्यो त म जाने कसरी? बोलाएपछि न जाने हो भेट्न, यो कुरा बुझिदिनुपर्यो।
फाटो ल्याउने एउटा समूह हुन्छ, स्वभाविक पनि हो त्यो। जहाँ पनि हुन्छ नै। अधिवेशन भयो, शेरबहादुरजी जित्नुभयो म हारेँ। त्यही दिनदेखि शेरबहादुरजी र हाम्रोतिर पनि त्यस्तो ग्रुप हुन्छ, स्वभाविक हो। त्यसलाई लेखेर पुष्टि गर्न खोजिरहनुभएको छ भने त्यतातिर नजानुस्, हामीबीच कुनै मतभिन्नता छैन।
हामीले कांग्रेसलाई कसरी मजबुत बनाउने भन्ने सोच्ने हो।
१४ औं महाधिवेशनमा ४० प्रतिशत भोट हाम्रो समूहले पाएको थियो। त्यसलाई ६० देखि ७० प्रतिशत कसरी बनाउने पो सोच्नुपर्यो, कसैलाई गाली गरेर त हुँदैन।
शेरबहादुरजीहरूले गरेका गलत कामहरूको हामीले गलत नै भनिराखेको छ।
मैले भनेको छु, तर तपाईंहरू लेखिदिनुहुन्न। मैले सभापति देउवालाई सोधेर कोशी प्रदेशको कुरा ट्वीट गरेको हुँ। कोशीमा सभामुखले सरकार बनाउन समर्थन गरेपछि मैले सभापति देउवालाई भनेको हुँ- गलत भयो भनेर।
सभापति देउवाले कोशीबारे छलफल गर्न बोलाउनुभएको थियो। त्यसबेला मैले मेरै समूहका अरूले के गर्छन् थाहा छैन, मचाहिँ तपाईंहरूले गलत गर्नुभयो भनेर ट्वीट गर्छु भनेर गरेँ। कोही रिसाउनुभयो, कोही खुसाउनुभयो होला। मैले सभापतिलाई त्यस दिन बैठकबाट उठ्ने बेला भनेको थिएँ, पार्टीका लागि यो ट्वीट गरेको हुँ।
सरकारमा जाने एउटा कुरा हो। नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो भन्ने कुरा त दर्शाउनुपर्यो नि!
अर्को कुरा, मन्त्री पठाउनेबारे पनि छ। मैले मन्त्री पठाउने होइन। म त कांग्रेस सांसद हो, कुनै ग्रुपको सांसद होइन। यो कुरा बुझ्नुपर्यो। तर कुनै विषयमा बिबाद हुन्छ भने सुल्झाउने क्षमता पार्टीभित्र छँदैछ।
(नेपाल प्रेस युनियन काठमाडौंको बिहीबार भएको पदस्थापना कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले राखेको धारणाको सम्पादित अंश)
प्रस्तुती: प्रशन्न पोखरेल