सभामुख देवराज घिमिरेले संघीय संसदको संयुक्त बैठक सुरू हुनुपूर्व सत्ता र प्रमुख प्रतिपक्षीसहित दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका छन्।
मंगलबार अपराह्न ३ बजे सरकारका नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने कार्यसूची छ। प्रमुख प्रतिपक्षी कांग्रेसले राष्ट्रपतिलाई सरकारका नीति तथा कार्यक्रम पेस गर्न दिने बताएको छ।
सभामुखले राखेको छलफलमा सहभागी कांग्रेस सचेतक सुशीला थिङले नीति तथा कार्यक्रम प्रस्तुत हुन सहयोग गर्ने बताइन्।
‘नीति तथा कार्यक्रम प्रस्तुत हुन सहयोग गर्ने तर त्यसपछि धन्यवाद प्रस्ताव टेबुल गर्ने प्रयोजनका लागि बोलाइएको बैठकमा विरोध जारी रहन्छ,’ उनले भनिन्, ‘सहकारी प्रकरणमा संसदीय छानबिन समिति नबनेसम्म हाम्रो विरोध जारी रहन्छ।’
सभामुख घिमिरेले दलहरूबीच सहमति नहुँदा नीति तथा कार्यक्रममाथिको छलफल, आगामी बैठक र बजेट प्रभावित हुने अवस्था आउनु राम्रो नहुने बताए। ‘दलहरुबीच सहमति नहुँदा संसदका बिजनेश प्रभावित हुने देखिएको छ, संवैधानिक संकट हुने अवस्था नआओस्,’ उनले भने।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले गृहमन्त्री रवि लामिछानेले सदनमा बोल्न पाउनुपर्ने बताए।
‘गृहमन्त्रीलाई गएको बैठकमा सभामुखले बोल्न समय दिनुभएको थियो, बोल्न पाउनुभएको छैन। आजको बैठकमा त्यसको निरन्तरतास्वरुप बोल्न दिनुपर्छ। गृहमन्त्रीले बोल्न पाउनुपर्छ,’ उनले भने, ‘धन्यवाद प्रस्ताव टेबल नभएसम्म नीति तथा कार्यक्रमको कोर्ष पूरा हुँदैन। कांग्रेसले पुनर्विचार गर्नुपर्छ।’
कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताइरहेको छ। नीति तथा कार्यक्रम पेस गर्न दिने र त्यसपछिका बैठक संसदीय छानबिन समिति गठन नगरेसम्म अवरोध गर्ने कांग्रेसले बताएको छ।