नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग सहकार्य गरी आउँदो स्थानीय र प्रदेश निर्वाचनमा जाने नीतिगत निर्णय भइसकेको बताएका छन्।
गोरखाको बाह्रकिलोमा सोमबार आयोजित कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले एमालेसहित अन्य कम्युनिस्ट पार्टीहरूसँग पनि सदन र सडकमा सहकार्य गरिने बताए।
‘नेकपा एमाले, नेकपा मशालहरूसँग हामीले सहकार्य गरेर जाने सहमति भइसकेको छ, सडक र सदनमा मिलेर जाने कुरा भएको छ र आउँदो स्थानीय र प्रदेश चुनावमा मिलेर नै लड्ने भन्ने नीतिगत निर्णय भएको छ, तपाईंहरूले थाहा पाइराख्नु भएकै होला,’ संयोजक प्रचण्डले भने, ‘हाम्रो कोसिस छ- सहकार्य मात्र होइन, पार्टी नै एउटै बनाएर कम्युनिस्ट आन्दोलन रक्षाका लागि, स्वाधिनता रक्षाका लागि र समाजवादको दिशामा अघि बढ्नका लागि कम्युनिस्टहरू एउटै केन्द्रमा आउनुपर्छ।’
उनले कम्युनिस्ट साना-ठूला दलहरू तथा समूहसँग छलफल सकारात्मक भइरहेको पनि बताए।
‘उमा भुजेलको नेतृत्वमा विप्लवजीको बहुमत जिल्ला र नेताहरू संलग्न समूहसँग केही दिनअघि एकता गरिएको छ,’ उनले भने, ‘अरूसँग पनि छलफल सकारात्मक छ, एमालेका नेताहरूसँग पनि। यद्यपि केपी ओलीजीलाई कुरा बुझाउन सजिलो त भइराखेको छैन तर पनि हामी सहकार्य र एकता गरेर जानुपर्छ।’
संविधान सभा र शान्ति सम्झौताका सहभागी शक्तिहरू नेपाली कांग्रेस र मधेसकेन्द्रित दलहरूसँग पनि लगातार छलफल गरिएको उनले बताए। ‘गगन थापाजी, शेरबहादुर देउवाजी र मधेसकेन्द्रित दलका नेताहरूसँग लगातार छलफल भइरहेको छ, हामी मिलेरै जानुपर्छ, मोर्चा गरेर जानुपर्छ भन्नेमा विमति छैन,’ उनले भने, ‘संविधान र संघीयता रक्षाका लागि मिलेर नै अघि बढ्नुपर्छ भन्नेछ।’