नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक शुक्रबार बस्दैछ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बिहान ११ बजे स्थायी कमिटी बैठक बस्ने माओवादी केन्द्रका प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नी सापकोटाले जानकारी दिए।
यसअघि बुधबार दिउँसो ३ बजे बस्ने भनिएको बैठक अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को कार्यव्यस्तताका कारण स्थगित भएको थियो।
आजको बैठक भने निर्धारित समयमा बस्ने उपाध्यक्ष सापकोटाले जानकारी दिए।
बैठकमा विशेषगरी चार विषयमा छलफल हुनेछ।
माओवादी केन्द्रको पुस २ गतेदेखि सुरू हुने केन्द्रीय कमिटीको एजेन्डाका विषयमा छलफल हुनेछ।
माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई उपाध्यक्ष बनाउने तयारी गरेको छ। आगामी केन्द्रीय समितिको बैठकले अनुमोदन गर्ने तयारी छ। त्यसबारेमा पनि शुक्रबारको स्थायी कमिटी बैठकमा छलफल गर्दैछ।
त्यस्तै पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) मा विवादका कारण रोकिएको राष्ट्रिय सम्मेलनबारे पनि बैठकमा छलफल हुनेछ।
त्यसैगरी स्थानीय तह उपनिर्वाचनबारे पनि समीक्षा हुने उपाध्यक्ष सापकोटाले जानकारी दिए।
माओवादी केन्द्रले यसअघि मंसिरसम्म देशभरका पालिकामा खबरदारी सभासँगै पालिका सम्मेलन गर्ने भनेको थियो। त्यसबारेमा पनि शुक्रबारको बैठकमा छलफल हुने उपाध्यक्ष सापकोटाले जानकारी दिए।
यीबाहेक समसामयिक राजनीतिक परिस्थितिबारे पनि बैठकमा छलफल हुने उपाध्यक्ष सापकोटाले बताए।