नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
सुरेश वाग्ले क्यान्सर सेन्टर भवनमा रहेको नयाँ आइसियुमा वैद्यको उपचार भइरहेको छ।
अध्यक्ष प्रचण्डले आइतबार साँझ अस्पताल पुगेर वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उनको परिवारसित पनि भेट गरेका हुन्।
सो क्रममा उपचारमा संलग्न चिकित्सकहरूले वैद्यको छातीमा संक्रमण र दमको समस्या रहेकाले अझै केही समय उपयुक्त वातावरणमा आराम गर्नुपर्ने बताएका थिए।
वैद्यले पनि आफूलाई आइसियुमा सारेपछि केही सहजता महसुस भएको प्रचण्डलाई बताए। प्रचण्डले वैद्यको स्वास्थ्यमा सुधार पाएको उल्लेख गर्दै थप स्वास्थ्यलाभको कामना गरे।