नेकपा (एमाले) सचिवालय बैठक सुरू भएको छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको बैठकमा समयसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
बैठकले पार्टीको तीन महिने अभियानको समीक्षासमेत गर्ने छ। आजको बैठकले केही विभागीय सचिव, सदस्यहरू मनोनीत गर्नेसमेत तयारी रहेको एमालेले बताएको छ।
बैठकले सरकारको कामको मूल्यांकन गर्दै अध्यादेशबारे पनि छलफल गर्नेछ।
सरकारले गत पुस २७ गते भूमि सम्बन्धीसहित ६ वटा अध्यादेश गरेको थियो। भूमिसम्बन्धी अध्यादेश भूमाफिया तथा रियल स्टेट व्यवसायीहरूको स्वार्थमा ल्याइएकाले देशको हितमा नरहेको भन्दै जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीले विरोध गरेको छ। उनीहरूले भूमि अध्यादेश फिर्ता लिनुपर्ने अडान राख्दै आएका छन्।
सत्ता पक्षले फागुन २१ वा २२ गते बस्ने संसद बैठकमा पेस गर्ने तयारी गरेका छन्।
एमाले सचिवालय बैठकमा यसबारे पनि छलफल हुनेछ।